बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उन्नाइसौँ निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक सम्पूर्ण निजामती कर्मचारीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।

“सरकारको सबैभन्दा नजिकको संयन्त्रको रूपमा सरकारलाई नीति र कार्यक्रमको तर्जुमादेखि कार्यान्वयनसम्मका चरणमा निजामती सेवाले महत्वपूर्ण सहयोग पुयाउँदै आएको छ । यसका लागि म सबै राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु”, प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उन्नाइसौँ निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाउन लागिएको छ ।

विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो । सोही दिनको स्मरणमा विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आइएको छ ।

राष्ट्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपालको निजामती सेवाको इतिहास गौरवपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुक राजनीतिक सङ्कटको अवस्थामा रहेको समयमा समेत राज्य सञ्चालनदेखि विकास निर्माण र सेवा प्रवाह कार्यलाई निरन्तरता दिँदै मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रसेवकले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि यस्तै सहयोग प्राप्त हुने विश्वास लिएका छन् ।

“निजामती प्रशासनले विभिन्न चुनौतीहरूका बाबजुद निरन्तर देश र जनताको सेवामा आफूलाई समर्पित गर्दै आएको छ । समयको परिवर्तनसँगै निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माणको कार्यलाई गति दिनुपर्ने खाँचो छ”, शुभकामना सन्देशमा उल्लेख छ ।

निजामती सेवा राष्ट्रको दर्पण भएकाले यसको सुधारविना राष्ट्रिय समृद्धिको सपना अधुरै रहने उल्लेख गर्दै उनले निजामती सेवाको समग्र सुधार र विकास नगरी मुलुकले गति लिन नसक्ने बताएका छन् । यस तथ्यलाई मनन गरी सरकारले निजामती सेवामा समसामयिक सुधार गरी सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहमा कार्यरत कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउन विभिन्न प्रयासहरू गरिरहेको उनले जनाएका छन् ।

राष्ट्रको समय विकास, समृद्धि र सुशासनका लागि तथा नेपाली जनताका चाहना र आवश्यकतालाई पूरा गर्नेगरी आगामी दिनमा अझ बढी उत्प्रेरित भई काम गर्न दिवसका अवसरमा प्रधानमन्त्री देउवाले सम्पूर्ण कर्मचारीहरूलाई आग्रह गरेका छन् । निजामती दिवसले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पणभावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा प्रदान गरोस् भन्दै उनले दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ३३ बजे