बैशाख १७, २०८१ सोमबार Mon Apr 29 2024

बोरिस जोनसनले आज राजीनामा दिने, ट्रसको शपथ आजै



काठमाडौँ । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता पदको दौडमा परराष्ट्रमन्त्री लिज ट्रस विजयी भएकी छन् । उनले भारतीय मूलका पूर्व अर्थमन्त्री ऋषि सुनकलाई कडा संघर्षमा पराजित गरेका हुन् ।

अब उनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् । मुद्रास्फीति, औद्योगिक अशान्ति र देशमा मन्दीको सम्भाव्यतासँग जुध्न चुनौतीको सामना गर्नुपर्नेछ । जुलाईमा मुलुकको मुद्रास्फीति १० दशमलव १ प्रतिशत पुगेको छ ।

लिज ट्रसको विजयको घोषणासँगै सत्ता हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । विभिन्न घोटालामा फसेपछि जुलाईमा प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय घोषणा गरेका वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार स्कटल्याण्ड जाँदै महारानी एलिजाबेथ द्वितीयलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाउनेछन् । आजै नयाँ प्रधानमन्त्रीको रुपमा ट्रसले महारानीबाट शपथ लिने कार्यक्रम रहेको छ ।

सेप्टेम्बर ७ मा उनी पहिलो पटक प्रधानमन्त्रीका रुपमा हाउस अफ कमन्स जानेछन् ।

आफ्नो अभियानको दौडान, लिज ट्रसले कर वृद्धि र अन्य सङ्कलनमा तुरुन्त कटौती गर्ने, मुद्रास्फीति नियन्त्रण गर्ने र कार्यभार सम्हालेको एक हप्ता भित्रमा बढ्दो ऊर्जा मूल्यहरूको समाधान प्रस्ताव गर्ने वाचा गरेकी छन् । तर, कर कटौतीपछि पहिलेदेखि नै चर्को मुद्रास्फीतिको समस्या थप गम्भीर बन्न सक्ने केही अर्थशास्त्रीहरू बताउँछन् ।

लिज ट्रसका आगामी दिनहरु सहज नहुने टिप्पणी उनले प्रधानमन्त्रीको कार्यभार शुरु नगर्दै हुन थालेको छ । पार्टीमा लोकप्रिय मत उनको पक्षमा भएपनि बहुसंख्यक सांसद ऋषि सुनकको पक्षमा रहेकाले उनलाई पार्टीका सांसदहरूको विश्वास जित्न उनले कडा मेहनत गर्नुपर्ने देखिएको छ ।

ट्रसको कमजोरी भनेको पार्टीका सांसदको पहिलो रोजाइ नरहेकोले उनलाई काम गर्न सहज नहुने टिप्पणी भइरहेको छ ।

ट्रसले महारानीबाट शपथ लिएपछि प्रधानमन्त्रीको सरकारी निवास १०, डाउनिङ स्ट्रिटबाट देशका नाममा उनको पहिलो सम्बोधन गर्नेछिन् । उनले आजै आफ्नो क्याबिनेटको घोषणा समेत गर्नेछिन् । महारानीले यी मन्त्रीहरूलाई सपथ गराउनेछन् । त्यसपछि विभाग प्रमुखले मन्त्रीहरुलाई आफ्नो पद हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : ४८ बजे