बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

‘कैलाली–१ बाट प्रतिनिधि सभामा मेरो उम्मेदवारी हुनेछ’ : रेशमपत्नी रञ्जिता चौधरी



धनगढी । कैलाली–१ बाट रेशम चौधरी पत्नी रञ्जिता चौधरी प्रतिनिधि सभा उम्मेदवार बन्ने भएकी छन् । उनले गत भदौ ८ गते लम्की नगरपालिकाको बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेदवार घोषणा गरेकी हुन् ।

प्रतिनिधिसभा सदस्य एवं टीकापुर घटनाको मुख्य आरोपित मानिएका रेशम चौधरी पत्नी रञ्जिताले उम्मेदवारी घोषणा गरेपछि सो निर्वाचन क्षेत्र अहिले चर्चामा छ ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र २०७४ सालको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पनि चर्चामा रहेको थियो । टीकापुर घटनाका मुख्य आरोपित रहेका रेशम फरार सूचीमा हुँदा पनि राष्ट्रिय जनता पार्टीबाट उम्मेद्वार बनी निर्वाचनमा भाग लिएका थिए । हाल राष्ट्रिय सभा सदस्य रहेकी एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाही तत्कालीन समयमा नेकपा (एमाले)बाट र नेपली कांग्रेसकी केन्द्रीय सदस्य इश्वरी न्यौपाने निर्वाचनमा उम्मेद्वार थिइन्।

दलहरुले प्रत्यक्ष रुपमा प्रचार–प्रसार गरेपनि चौधरी भने निर्वाचन क्षेत्रमा नपुगेरै निर्वाचनमा विजयी भएका थिए । कैलाली– १ मा ९६ हजार तीन सय ७२ मतदाता रहेकोमा ६४ हजार तीन सय ३९ मत खसेको थियो । जसमध्ये रेशमले ३४ हजार तीन सय ३१ मत प्राप्त गरेर निर्वाचित भए। उनका प्रतिद्वन्द्वी शाहीले १३ हजार चार सय छ र नेपाली कांग्रेसकी न्यौपानेले ११ हजार दुई सय तीन मत प्राप्त गरेका थिए ।

कैलाली–१ मा टीकापुर नगरपालिकाका नौ वटै वडा, जानकी गाउँपालिकाका वडा १, ३, ४, ६ र ७, जोशीपुर गाउँपालिकाका ७ वटै वडा र भजनी नगरपालिकाको वडा ६ र ८ पर्दछन ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन घोषणा हुनु तीन महिनाअघि रेशम पत्नी रञ्जिताको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता भयो । स्थानीय तहको निर्वाचनमा रेशम प्रभाव क्षेत्र एवं थारु बाहुल्य टीकापुर, भजनी नगरपालिका तथा जानकी, जोशीपुर र कैलारी गाउँपालिका बढी चासोका साथ हेरिएको थियो । सो पार्टीले स्थानीय तहको निर्वाचनमा कैलारी गाउँपालिकाबाहेक अन्य चार स्थानीय तहमा आफनो प्रभाव बढाएको छ । भजनी नगरपालिकाको उपप्रमुखबाहेक तीन स्थानीय तहमा प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षसँगै वडामा पनि आफनो प्रभाव बढाएको दाबी छ।

स्थानीय तहको निर्वाचनमा वडागत मतपरिणाम हेर्दा सो निर्वाचन क्षेत्रमा सो पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले १४ हजार दुई सय ६९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ११ हजार चार सय ८८ मत प्राप्त गरेको छ । एमालले आठ हजार एक सय ४९ र माओवादी केन्द्रले पाँच हजार एक सय चार मत प्राप्त गरेको छ ।
मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सो पार्टीले ठूला दलहरुलाई पछि पार्ने तयारीमा प्रचार–प्रसारसंगै संगठन विस्तारमा जोड दिँदै आएको छ ।

कैलाली–१ बाट नेपाली कांग्रेसका नेता रामजनम चौधरी र इश्वरी न्यौपाने पनि प्रतिनिधि सभाको निर्वाचनमा लड्ने दाउमा छन् । प्रतिनिधिसभाका लागि एमालेबाट सम थापा, तपेन्द्र रावल र शिलु खतिवडालाई सिफारिस गरिएको हो।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : १८ बजे