बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

प्रतिनिधि सभाबाट बाहिरिँदै लिङदेनले भने – अब संसदमा एक्लै आउने छैन



काठमाडौं । चुनावको मिति घोषणा भएपछि पनि संसद् चलाई राख्नु अनैतिक हुने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभा त्यागेको घोषणा गरेका छन् । कानून संशोधन गरेर प्रतिनिधि सभाको आयु मंसिर ४ पछिसम्म बनाउन लागिएकोमा लज्जित भएको उनले बताए ।

आइतवार प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर अध्यक्ष लिङदेनले प्रतिनिधि सभा त्यागेको बताएका हुन् । ‘चुनावको मिति घोषणा भइसकेपछि संसद् चलिराख्नु उपयुक्त हुँदैन भन्ने हाम्रो पार्टीको धारणा थियो । त्यसो हुन सकेन । व्यक्तिगत रूपमा म संसदमा आउँदिन’, लिङदेनले भने, ‘आउने चुनावमा पार्टीको राम्रो हैसियत बनाउनको लागि पनि जनतामा जाँदैछौँ । अब संसदमा म एक्लै आउने छैन, बलियो शक्तिको रुपमा आउने छौँ ।’

लिङदेनले आफ्नो नाममा तलब भत्ता नपठाउन संसद सचिवालयसँग आग्रह गरे । ‘संसदको आयु मंसिर ४ गतेपछि पनि रहने कुराले असाध्यै लज्जित र दुःखित तुल्यायो, मेरो नाममा तलब भत्ता नपठाउन यहीबाट आग्रह गर्छु’, उनले भने ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ५ : ४१ बजे