श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

बुथ कब्जा गर्न सक्छन्, सर्प जस्तो डस्न तयार रहनुस् : ओली



काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन्।

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताए।

यसभन्दा अघि दुई पटकसम्म नेकपा ९एमाले०ले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी ओलीको छ।

‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो। तर हार घोषणा गराइएको छ। प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ। म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु’ उनले भने, ‘तपाईहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन। त्यसकारण तपाईंहरुले राष्ट्रसेवकको हैसियतमा निष्पक्ष भूमिका खेल्नुपर्दछ। मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्चाउने लगाएका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु ।’

उनले एमाले गड्यौलाजस्तो नभएको भन्दै दुई वटा दाँत भएको सर्प जस्तो डस्न तयार हुनुपर्ने बताए। बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए।

मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउने ओलीले दाबी गरे। एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाए। अघिल्लो सरकारले ल्याएका आयोजनाहरु कटौती गरेर बेहाल बनाएको उनले दाबी गरे।

सोही क्रममा उनले भने, ‘एमालेका नेता कार्यकर्ता गड्यौला जस्तो हुने हैन। दुईटा दाँत भएको सर्पजस्तो डस्न तयार पनि हुनुपर्छ। बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नु पर्छ’ उनले भने, ‘कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न। मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ। बनाउनै पर्छ किनकी यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यस कारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ।’

मंसिर ४ गते हुने निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रताले हार्नुनहुने उनले बताए। सरकारमा रहेका दल त्यागेर अहिले नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको उनको भनाई छ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ३ : ५८ बजे