चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

अहिलेसम्म मैले पार्टीबाट केही लिएको छैन बरु जीवनका उर्जाशील समय पार्टीलाई दिएको छु : वरिष्ठ पत्रकार रिजाल



इन्द्र रिजाल, वरिष्ठ पत्रकार तथा नेता नेपाली कांग्रेस

नेपाल विद्यार्थी संघबाट राजनीतिक फाँटमा उदाएका स्थापित बौद्धिक युवा नेता हुन् इन्द्र रिजाल । स्याङ्जामा जन्मिएका रिजाल वरिष्ठ पत्रकार तथा कांग्रेसका जुझारु यूवानेता हुन् । विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा हात हालेका उनीसँग राजनीतिसँगै तीनदशक लामो पत्रकारिताको अनुभव छ । उनले पत्रकारिता गर्दा पनि कांग्रेसकोसंगठनलाई रत्तिभर डगमगाउन दिएनन् । स्वरोजगारमुलक पत्रकारितासँगै पार्टी संगठनको कामलाई निरन्तर अगाडि बढाइरहे । निडर र हक्की स्वभावका रिजाल निष्ठावान नेता र स्पष्टवक्ताको रुपमा चिनिन्छन् । उनले पत्रकारिता गर्दा पनि दवाव र प्रभावमा कहिल्यै कलम घुमाएनन् । यथार्थ समाचार जनतासामु मुखरित गरेरै छाडे । वैभवशाली स्याङ्जा निमार्णका खातिर जन्मभूमि स्याङ्जा रहेर कर्मथलो देशविदेशमा बनाउने व्यवसायिक पत्रकारहरुको साझा सञ्जाल स्याङ्जा पत्रकार समाज नेपाल गठन गरी सो संस्थाको संस्थापक अध्यक्षसमेत रहेका रिजाल सबै आस्था र विचारका मानिसहरुलाई पनि उत्तिकै आदर र सम्मान गर्छन् । उनै वरिष्ठ पत्रकार रिजालसँग आगामी आमनिर्वाचनमा केद्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश : 

लामो समय पत्रकारितामा बिताउनुभयो, कांग्रेसको पार्टी राजनीतितिर कसरी आकर्षित हुनुभयो ?
म विद्यार्थी राजनीतिबाट आएको हुँ । २०४५ सालदेखि निरन्तर बिद्यार्थी राजनीतिमा थिएँ । स्कुले जीवनदेखिनेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सँघबाट राजनीति थालेको हुँ । ०४६ सालको ऐतिहासिक जनआन्दोलनमा स्कुल ईकाईको अध्यक्ष, पोखरा क्याम्पस ईकाई सभापति हुँदैम नेविसंघको स्याङ्जा जिल्लाको उपसभापति हुँदा हामी गाँउगाँउमा संगठन गर्न जान्थ्यौं । त्यतिबेला अहिले जस्तो गाडीघोडा थिएनन्, पैदलै हिडेर जानु पर्थ्र्यो ।त्यसपछि उच्च शिक्षा अध्ययनको लागि काठमाडौं छिरेँ । क्याम्पस पढ्दा पनि शंकरदेव क्याम्पस ईकाईको सभापति हुँदै नेविसंघमा रहेर कांग्रेसले उठाएका विभिन्न आन्दोलनहरुको अग्रभागमा रहेर भूमिका निर्वाह गरियो । यसरी विभिन्न कालखण्डमा पार्टीको लागि धेरै ठूलो लगानी गरेको छु ।

नेविसंघको राजनीतिसँगै पत्रकारिता क्षेत्रबाट पनि कांग्रेसमा ठूलो लगानी गरेको छु । पत्रकारिताको माध्यमबाट स्याङ्जा जिल्लाको मात्रै होइन,७७ वटै जिल्लामा कांग्रेसको संगठन गतिलो र बलियो बनाउन निरन्तर लागिपरेको छु । कम्युनिस्टहरु खासगरी एमालेबाट पार्टीलाई अप्ठ्यारो पारेको बेला मैले पत्रकारिताको माध्यमबाट उसको गलत क्रियाकलापको पर्दाफास गरेर जनतासमक्ष उजागर गर्ने काम गरेको छु । कम्युनिस्टहरुले कांग्रेसलाई आक्रमण गर्न खोजेको बेला विचार, समाचार सम्प्रेषण गरेर ठूलो सहयोग गरेको छु । मैले पार्टीको निम्ति मिशन पत्रकारिता गरेँ । जुन स्वरोजगारमुलक ढंगले सञ्चालित व्यवसायिक पत्रकारिता थियो ।

त्यसैले म एकातिर श्रमजीवी हुँ भने अर्कोतिर मिडिया उद्यमी। अहिलेसम्म मैलेपार्टीबाट केही लिएको छैन बरु जीवनका उर्जाशील समय पार्टीलाई दिएर अगाडि बढेको छु । यसरी पत्रकारिताको माध्यमबाट देश, काल, परिस्थितिलाई लामो समय नियालियो । त्यो ज्ञान, सीप, क्षमता र अनुभवलाई आफ्नै गृह जिल्ला स्याङ्जाका जनतामाँझ साटासाट गर्नको लागि अहिले स्याङ्जा आएको छु । यदि पार्टी विधि र पद्धतिमा चलेको छ भने मैले नेविसंघ हुँदै पत्रकारिता क्षेत्रबाट अहिलेसम्म पार्टीलाई पु¥याएको योगदानलाई चिन्न सक्नुप¥यो । मैले कांग्रेसभित्र मेरो लगानीको चिनारी खोजेको छु । यो कारणले पनि मेरो नम्बर अगाडि नै आउनुपर्छ जस्तो लाग्छ ।

त्यसोभए तपार्इंले लगानीको परिचय खोज्नुभयो हो ?
हो, मैले विद्यार्थीकालदेखि पत्रकारिता हुँदै कांग्रेसले उठाएका विभिन्न आन्दोलनको अग्रमोर्चामा रहेर आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको छु । अहिलेसम्म पार्टीलाई जे–जति सरसहयोग गरियो त्यो निस्वार्थ ढंगले गरियो । चाहे पत्रकारिताबाट होस्, चाहे समाजसेवाबाट होस् अथवा विद्यार्थीको मोर्चाबाट सबै कांग्रेसलाई बलियो बनाउन मेरा सहयोग केन्द्रित थिए । पत्रकारिता गर्दा मैले जहिले पनि कम्युनिस्टहरुबाट हुने गरेका असंवैधानिक, अलोकतान्त्रिक, कुशासन र अधिनायकवादी चरित्रको जनतासामु उजागर गर्ने काम गरेँ । त्यसैले यसपालि मैले २०४५ सालदेखि नेपाली कांग्रेसलाई बलियो बनाउन गरेको योगदानको चिनारी पार्टीभित्र खोजेको छु ।

स्याङ्जाबाट चुनाव लड्दै हुनुहुन्छ, तपाईंको दावी संघ कि प्रदेशमा हो ?
मेरो दावी संघमा होइन, प्रदेशमा हो । मैले पार्टीलाई पु¥याएको योगदानको पार्टीभित्र चिनारी खोजेको छु । त्यसको लागि गण्डकी प्रदेशको एउटा क्षेत्रबाट प्रत्यक्षतर्पmको प्रदेश सांसदमा मेरो उम्मेदवारी हुनेछ । नेपाली कांग्रेस पार्टी नेतृत्वबाट मैले त्यसको आशा गरेको छु । म प्रत्यक्षतर्पmको टिकटको सशक्त दावेदार हुँ । मलाई पार्टीले टिकट दिएको खण्डमा अरुले भन्दा २÷४ हजार भोट बढीनै ल्याएर जित्न सक्छु । १४ औं महाधिवेशनमा म पार्टी कार्यकर्ताबाट अनुमोदित भएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको छु । अबम स्याङ्जाका जनताबाट अनुमोदित भएर आउन चाहन्छु । त्यसको लागि सक्षम छु । त्यसैले मेरो लगानी र क्षमतालाई पार्टीले चिन्नुप¥यो ।

पार्टी गठबन्धनबाट चुनाव लड्दै छ, त्यो आवश्यक छ?
स्याङ्जामा गठबन्धनको विषयमा भन्नुपर्दा जतिबेला माओवादीको जगजगी थियो त्यतिबेला पनि माओवादीको कुनै संगठनर भोट स्याङ्जा जिल्लामा थिएन । अहिले त झन् माओवादीको भोट १५ सयदेखि २ हजारसम्म होला, यो क्षेत्रमा । यदि गठबन्धन भइहाल्यो भनेपनि उनीहरुको २, ४ सय भोट कांग्रेसलाई आउला । किनभने कम्युनिस्टको भोट कम्युनिस्टलाई नै जान्छ । कांग्रेसको भोट पहिला रुखबाहेक अन्त जाँदैनथियो । अहिले चाहीं हाम्रा पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले कार्यकर्तालाई बिगार्नुभयो । कहिले हँसियाहथौडालाई भोट हाल भनेको छ, कहिले कलमलाई हाल भनेको छ ।

सत्ताराजनीतिका कारण राष्ट्रिय राजनीति बिग्रिएको छ । सत्ताचलाउनका लागि गरिएको गठबन्धन र राष्ट्रिय राजनीति त आमकार्यकर्ताले बुझ्दैनन् । फेरि गत स्थानीय निर्वाचनमा स्याङ्जा जिल्लाका जहाँ हामीले गठबन्धन ग¥यौं । त्यसको ११ वटा पालिकामध्ये ६ वटामा हामीले माओवादी केन्द्र र नेकपा एससँग गठबन्धन गरेका थियौं । त्यहाँ कांग्रेस उम्मेदवारहरुले हारखानुप¥यो । ५ वटा पालिकामा कांग्रेस सिंगल लडेको थियो । त्यहाँ मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षसहित शानदार ढंगले जित्यो । त्यसैले कांग्रेसले गठबन्धन अन्य पार्टीसँग होइन कांग्रेससँगै आन्तरिक गठबन्धन बलियो गर्ने हो भने स्याङ्जाका सबै सीट जितिन्छ । कांग्रेसले जति चुनाव हारेको छ त्यो अन्तर्घातका कारण हारेको हो । चुनावै जित्नको लागि कांग्रेस एकभए पुग्छ । अन्य पार्टीको भ¥याङ बनिरहनुपर्ने आवश्यकता छैन ।

तपाईंले स्याङ्जामा गएर के के गर्नुभयो ?
कांग्रेसले भदौ १० देखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ नामक देशव्यापी अभियान सुरु गरेको छ । त्यो अभियानअन्तर्गत यतिबेला म जनताको साथमा छु । उहाँहरुकै घरमा खाएको छु । त्यसैले म नेताहरुको होइन, जनताको साथमा छु । हिजो स्थानीय निर्वाचनताका हाम्रो नारा थियो, ‘घरघरमा कांग्रेस, जन्जन्मा कांग्रेस’ भन्ने । त्यसलाई पनि निरन्तरता दिँदै अहिले ‘जनताको साथमा कांग्रेस’ अभियानमा छु । मेरो विचारमा यो अभियानलाई भदौ २४ गतेसम्म मात्रै होइन सदावहार बनाउनुपर्छ । जनताको साथमा सधैं कांग्रेस हुनुप¥यो भन्ने सन्देश बोकेर म गाउँगाउँ पुगिरहेको छु ।

त्यो क्षेत्रका कांग्रेस एक्लै लड्दा पनि चुनाव जित्छ ?
स्याङ्जा क्षेत्र नं. १ ‘क’मा नेपाली कांग्रेसबाट मैले टिकट लिएर लडेँ भने ५ हजार मतान्तरले जितिदिन्छु । यहाँ हामी एक्लै लडियो भने ५ हजार मतान्तरले जितिन्छ । गठबन्धन भयो भने भन्न सकिन्न । तर, नेपाली कांग्रेसभित्र आन्तरिक गठबन्धन चाहीँ बलियो हुनुपर्छ । स्व. सुशील कोइरालाले सधैं भन्नुहुन्थ्यो, ‘सहमति, सहकार्य र एकता’ , त्यो चाहीं चाहिन्छ । स्याङ्जाको क्षेत्र नं. १ प्रदेश ‘क’ मा मात्रै होइन ओभरल संघमा पनि त्यहीं हो । कांग्रेस एक्लै लड्दा जित सुनिश्चित छ । अन्य दलसँग गठबन्धन गरेर जाँदा भन्न सकिँदैन । कांग्रेसका नेता, कार्यकर्ता र मतदातालाई एकताको राम्रो सन्देश दिन सकियो भने स्याङ्जामा हामी ५÷६ हजार मतले अगाडि छौं ।

अहिले उमेरभन्दा पनि नेता र नेतृत्वमा नयाँ अनुहार चाहियो भन्ने छ, तपाईं गाउँगाउँ डुलिरहँदा कस्तो सन्देश पाउनुभयो ?
जनताले पनि ‘टेष्टेड अनुहार अब रिजेक्ट’ भनेका छन् । ‘टायर, रिटायर र एबाउट टु एक्सपाएर’ नेताहरुलाई अब जनताले पत्याउनेवाला छैनन् । अर्को अहिले युवापुस्ताको कुरा जोडतोडले आइरहेको छ । यसरी युवापुस्ताको कुरा गरिरहँदा फिप्टी क्रसका म जस्ताको जसले लामो समय पार्टीमा योगदान गरेका तर अहिलेसम्म अवसर नपाएकाको न्याय हुनुप¥यो । जस्तो म २०४५ सालदेखि कांग्रेसको संगठनमा निरन्तर लागिरहेको छु अहिलेसम्म अवसर पाएको छुइन । अहिलेसम्म पार्टीको लागि आफनो समय र पैसा खर्च गरेको छु । यसरी २०४६ साल अगाडिदेखि लागेर पनि अहिलेसम्म अवसर पाउनुभएको छैन । त्यस्ता व्यक्तिले अवसर पाउनुपर्छ भन्ने जनताको भावना भएको मैले पाएँ ।

युवापुस्ता भन्नाले कुन उमेर समूहका र कस्ता योगदान भएकालाई मान्ने ?
युवापुस्ता भनेको उमेरको हिसाबले होइन । विचार, ज्ञान, सक्रियता, गतिशिलता, भिजन, निरन्तरता, निष्ठा र प्रतिबद्धताले भरिपूर्ण भएपछि मात्रै ऊ युवा हुन्छ । कसैको कपाल फुल्दैमा बुढो भइहाल्ने र कालो हुँदैमा युवा हुने होइन । उसको निरन्तरता, गतिशिलता र क्रियाशीलता कति भन्ने कुरा पार्टीले खुट्याउन सक्नुप¥यो । त्यसको लेखाजोखापार्टीले गर्न सक्नुपर्छ । अहिले जनताले चेन्ज खोजेका छन् । त्यसैले पार्टीले टिकट दिँदा ‘हाम्रालाई होइन, राम्रालाई’ दिनुप¥यो । पटक–पटक एउटै अनुहार दोहोरिइरहँदा जनतामा वितृष्णा भएको हो । अहिले जुनसुकै पार्टीको भएपनि ‘पटके’ अनुहारलाई जनताले मान्नेवाला छैनन् । योगदान भाको, अवसर नपाको नयाँ अनुहार जनताले खोजेका छन् ।

पार्टीले गठबन्धनको आडमा पुरानै अनुहार दोहो¥याएर पठायो भने चुनाव हार्छ, हो ?
त्यसको बारेमा त म तपार्इंलाई गत स्थानीय निर्वाचनको स्मरण गराउन चाहन्छु । काठमाडौं जस्तो सचेत नागरिक बसोबास भएको ठाउँमा एउटा स्वतन्त्र व्यक्तिबालेन शाहलाई चुनाव जिताएर देखाइदिए । धरान र धनगढीमा पनि त्यस्तै स्वतन्त्र व्यक्तिहरुले शानदार चुनाव जिते । त्यो पार्टी र नेताप्रति जनताको फ्रस्टेशन हो नि । हिजो पो विकल्प थिएन, एउटा पार्टीमा लागेपछि जो आएपनि भोट हालिदिन्थे । अहिले त मानिसले विकल्प, अवसर खोजेका छन् ।

त्यसकारण पार्टीभन्दा पनि व्यक्ति छान्न थालेका हुन् । अब जनता धेरै सचेत भइसकेका छन् । हिजो जस्तो झुठा आश्वासनमा आँखा चिम्लेर भोट हाल्दैनन् । नेताहरुले यसमा हेक्का राख्न जरुरी छ । सधैं आफ्नै श्रीमती, छोराछोरी, नातेदार, भाइभारदार, भजनमण्डलीलाई मात्रै अवसर दिने हो भने जनताले मान्नेवाला छैनन् । कतिपय वर्षौंदेखि पार्टी संगठनमा लागिपरेका छन् । समय र सम्पत्ति खर्चेका छन्, कहिल्यै न अवसर पाएका छन् न त सम्माननै । त्यस्तो व्यक्तिको कदर हुनुप¥यो भन्ने जनताको माग छ । त्यसमा हाम्रा आदरणीय नेताहरुले न्यायपूर्ण निर्णय गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।

तपाईंलाई नेपाली कांग्रेसले टिकट दिन्छ त ?
पार्टीले स्याङ्जाको दुईवटा संघ र चारवटा प्रदेशमा चुनाव जिताउने हो भने इन्द्र रिजाललाई टिकट नदिई सुखै छैन । त्यो मैले भनेको होइन जनताले भनेका हुन् । म त पत्रकारिता पेशाबाट आएको मान्छे हुँ । अहिले जनताले अलग टेष्ट पनि खोजेका छन् । स्याङ्जा जिल्लाको लागि म सेलिब्रेटी उम्मेदवार हुँ । अर्को म पार्टीमा ठूलो लगानी गरेको अहिलेसम्म केही नपाएको पीडित कार्यकर्ता पनि हुँ । अहिलेसम्म पार्टीलाई दिएको छु तर केही लिएको छुइन् । यसपाली स्याङ्जा १ ‘क’बाट प्रदेश सांसदको टिकट मागेको छु । त्यसमा मलाई न्याय हुन्छ भन्नेमा ढुक्क छु ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ६ : २७ बजे