मंसिर २०, २०८० बुधबार Wed Dec 6 2023

अल्फा बिटाले भन्यो ‘कमीकमजोरी भएको देखिएमा तत्काल सच्चाउँछौँ’



काठमाडौँ । अल्फा बिटा समूहले आफूबाट केही कमीकमजोरी भएको देखिएमा भएको देखिएमा तत्काल सच्याउने प्रतिबद्धता जनाएको छ । बुद्धनगरस्थित कम्प्लेक्सको संरचना भत्काएको ६ दिनपछि अल्फा बिटाले विज्ञप्ति जारी गर्दै कमीकमजोरी भएको देखिएमा सच्चाउने प्रतिबद्धता जनाएको हो ।

कम्प्लेक्सको संरचना वैध नै रहेको सो समूहले उल्लेख गरेको छ । ‘अल्फा बिटा कम्प्लेक्सको भुईँ तल्लालाई व्यवसायिक प्रयोजनका लागि उपयोग गर्न महानगरको मिति २०७५ फागुन २ गते को भवन निर्माण सम्पन्न प्रमाणपत्रअनुसार अभिलेखीकरण गराई थप दस्तुर महानगरमा बुझाएको थियौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सोहीअनुसार सो तल्ला प्रयोगमा ल्याएको हो । साथै हाम्रो भगिनी संस्था अल्फा केयरद्वारा सञ्चालित फार्मेसी पनि प्रचलित कानुनको अधीनमा रहेर नै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौँ ।’

सकारात्मक सुझावको सम्मान गर्ने भन्दै अल्फा बिटा समूहले संस्थाप्रति आँच आउने सूचना प्रवाह गरिएकोप्रति भर्त्सना गरेको छ । ‘बदनीयतपूर्वक केही निहित स्वार्थको पूर्ति हेतु सञ्चालित समूहद्वारा यो मौकाको गलत फाइदा उठाउने नियतले हाम्रो व्यक्तिगत जीवनमा र ३ दशक लामो स्थापित संस्थाप्रति आँच आउने किसिमको सूचना प्रवाह गरिएकोमा हामी घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता कुनै पनि व्यक्ति वा संस्थाप्रति प्रचलित कानुन बमोजिम कानुनी उपचार खोज्ने पनि जानकारी गराउँदछौँ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  १० : ४९ बजे