जेष्ठ १, २०८१ मंगलबार Tue May 14 2024

रुसी कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्रमा पुनः बमबारी



काठमाडौं । युक्रेनको जापोरीजा परमाणु ऊर्जा केन्द्रमा थप बमबारी भएको बताइएको छ । ती परमाणु केन्द्रमा गरिएको आक्रमणमा रुस र युक्रेनले एक अर्कालाई आरोप लगाएका छन् ।

युरोपकै सबैभन्दा ठूलो ऊर्जा उत्पादन केन्द्रको कार्यालय र अग्नि केन्द्रमा १० वटा प्रहार भएको युद्धरत दुवै पक्षले जनाएको बीबीसीले उल्लेख गरेको छ । उक्त विषयमा छलफलका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पनि छलफल भइरहेको समाचारमा जनाइएको छ ।

राष्ट्रसंघको परमाणु निगरानी निकाय प्रमुख रफाएल ग्रोसीले आक्रमणलाई ‘गम्भीर समय’ भएको बताएका छन् । बीबीसीका अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले उक्त घटनाले ‘विपत्ति निम्त्याउन सक्ने’ बताए ।

रुसले विश्वकै सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको आरोप युक्रेनले लगाएको छ । यो परमाणु ऊर्जा केन्द्र गत मार्चयता रुसको कब्जामा छ । बुधबार औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका विदेश मन्त्रीहरूको बैठकले उक्त ऊर्जा केन्द्रको नियन्त्रण रुसले तत्काल युक्रेनलाई फिर्ता गर्नुपर्ने बताएका थिए ।

अमेरिकाले पनि यो ऊर्जा केन्द्रलाई गैरसैनिक इलाका घोषणा गरिनुपर्ने माग गरेको छ । ‘परमाणु केन्द्र नजिक युद्ध हुनु खतराजनक र गैरजिम्मेवार भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

मध्यपूर्वी युक्रेनमा रहेको यो केन्द्रमा गत साता पनि आक्रमण भएको थियो र आक्रमणमा दुवै देशले एक अर्कालाई आरोप लगाएका थिए ।

यसैबीच राष्ट्रसंघका महासचिव गुटेरसले उक्त क्षेत्रको सुरक्षाका लागि निःशस्त्रीकरण परिधिबारे तत्काल एउटा प्राविधिक सम्झौता आवश्यक रहेको बताएका छन् ।

बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रुसले चेर्नोबलमा भन्दा ठूलो विश्वकै खराब परमाणु दुर्घटना निम्त्याउन उक्साइरहेको बताएका छन् । रुसले आणविक हतियार प्रयोग नगरी आणविक आक्रमण गर्ने नियत राखेको उनको आरोप छ ।

यो परमाणु केन्द्रमा ६ वटा प्रेसराइज्ड वाटर रियाक्टरहरू छन् र रेडियोधर्मी विकारहरू पनि छन् । उक्त केन्द्र कब्जा गरे पनि रुसले युक्रेनले नै नियुक्त गरेका कर्मचारीलाई कायमै समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : १२ बजे