बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

वारागुङ मुक्तिक्षेत्रमा भदौबाटै काम, आधा योजना कात्तिकमै सक्ने लक्ष्य



वलेवा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले असारे विकास अन्त्य गर्न बजेट कार्यान्वयनको प्रयास थालेको छ ।

कात्तिकको अन्तसम्ममा चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये आधा योजनाको काम सक्नेगरी गाउँपालिकाले तयारी थालेको हो । हिउँदको समयमा काम गर्न नसकिने भएकाले साउनदेखिनै योजनाका काम सुरु गर्न थालिएको गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए ।

हालै बसेको कार्यपालिका बैठकले उपभोक्ता समिति गठनदेखि योजना फरफारकसम्मको कार्यसूची नै तयार गरेको छ । साउन मसान्तसम्म उपभोक्ता समिति गठन गरिसक्ने, भदौ १ देखि १५ सम्म योजना सम्झौता र भदौ १५ देखि कात्तिकको अन्तसम्म विनियोजित योजनामध्ये ४० प्रतिशत योजनाको काम सक्ने अध्यक्ष गुरुङले बताए ।

‘अहिले भर्खर आर्थिक वर्ष सकिएको छ । बीचमा चार्डवाडले समय जान्छ । हिउँदमा काम गर्नसक्ने कुरै भएन,’ अध्यक्ष गुरुङले भने, ‘वैशाखबाट काम थालेर ३ महिनामा के काम हुन्छ रु’ समयमा काम थाल्दा कामको गुणस्तरमा सुधार हुने र अनियमितता घटाउनसमेत सहयोग पुग्ने उनले बताए ।

१० देखि २० लाखसम्मका योजना असोजसम्म सक्ने लक्ष्य पालिकाको छ । पालिकाले उपभोक्ता समितिमार्फत् हुने कामका लागि हिउँदको समयमा उपभोक्ता पाउनै कठिन छ । यो समस्या मुस्ताङका सबै पालिकामा छ ।

साना योजनाका लागि तत्काल काम थाल्न पालिकाले कूल विनियोजन रकमको २० प्रतिशतसम्म पेश्की उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : ११ बजे