बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश जबरा



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूमाथि लागेको महाभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले आज (बुधबार) बयान लिँदैछ ।

महाभियोगका विषयमा लागेका आरोपबारे जबराले समितिसमक्ष बयान दिनेछन् । समितिले एक साताअघि नै पठाएको पत्र जबराले बुझेका थिए । महाभियोगबारे छानविन गर्न ११ सदस्यीय समिति गठन भएको छ ।

नेपालको संविधान धारा १०१ को उपधारा ९२० तथा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ बमोजिम प्रतिनिधिसभाका एक चौथाइभन्दा बढी सदस्यहरूले महाभियोग प्रस्ताव पेस गरेका थिए । न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबण्डा खोजेको लगायतका अभियोग जबरामाथि लगाइएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका ९८ जना सांसदले महाभियोग प्रस्ताव संसद्मा दर्ता गरेका थिए। कांग्रेस संसदीय दलकी तत्कालीन सचेतक पुष्पा भुषाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजवादी पार्टीका सचेतक जीवनराम श्रेष्ठले प्रस्तावक रहेका थिए ।

उक्त प्रस्तावमा ९५ जना सांसदले समर्थन जनाएका थिए । भदौ ८ गते महाभियोगी सिफारिस समितिको बैठकले महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी उपलब्ध गराइदिन सरोकारवाला निकाय, व्यक्तिबाट माग गरेको थियो । सोहीबमोजिम नेपाल बार एसोसिएसनले जबरालाई महाभियोग पुष्टि गर्ने कागजात एवं विवरणसहितको ३४ बुँदे पत्र महाभियोग सिफारिस समितिलाई आइतबार बुझाएको थियो ।

यसअघि जबराको राजीनामा माग गर्दै बारले १०९ दिनसम्म आन्दोलन गरेको थियो । जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीश इजलास बस्न इन्कार गरेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ११ : ४३ बजे