श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

बसन्तपुर क्षेत्रका निर्माण सामग्री तत्काल हटाउन पर्यटनमन्त्रीको निर्देशन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्राको तयारीबारे बुझ्न मंगलबार हनुमानढोका दरबार क्षेत्र क्षेत्र निरीक्षण गरेका छन् ।

मन्त्री श्रेष्ठले सो क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत बाधा पुगेकोले त्यस्ता सामग्री तत्काल हटाउन निर्देशन दिए ।

मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वको हनुमानढोका दरबार क्षेत्र व्यवस्थापनमा ध्यान दिन हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, नेपाल प्रहरी, नेपाली सेना, पुरातत्व बिभाग र स्थानीय संघसंस्थालाई आग्रह गरे।

मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्रलाई सुन्दर, सफा र व्यवस्थित गर्नुपर्नेमा जोड दिए । ऐतिहासिक र पुरातात्विक महत्व बोकेको बसन्तपुर क्षेत्रलाई व्यवस्थित गर्न र संरक्षणमा स्थानीय संघ संस्था तथा सम्बन्धित निकायले समन्वय र सहकार्य गरी काम गर्न उनले निर्देशन दिए ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ६ : ४४ बजे