बैशाख १, २०८१ शनिबार Sat Apr 13 2024

चौताराका मेयर सापकोटामाथि आक्रमण भएको भिडियो भाइरल



काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटामाथि आक्रमण भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मंगलबार दिउँसोबाट भाइरल भइरहेको भिडियो स्थानीय तहको निर्वाचनताकाको हो । सार्वजनिक कार्यक्रममा उनीमाथि आक्रमण भएको देखिन्छ । आक्रमण हुन थालेपछि उनी भागेको र ‘पुलिस खोइ’ भन्ने आवाज पनि सुनिन्छ ।

यसबारे बुझ्न खोज्दा मेयर सापकोटाको मोबाइल स्विच अफ छ । उपमेयर सीता थापा, नगरपालिकाका सूचना अधिकारी राजभाइ श्रेष्ठले फोन रिसिभ गरेनन् । प्रशासकीय अधिकृत रामबहादुर केसीले भने आफू कार्यालयको काम विशेषले काठमाडौंमा रहेकाले केही जानकारी नरहेको बताए ।

मेयर सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका भाइ हुन् । माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए । त्यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो । तर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने एमाले नेता महेश बस्नेत वाइसीएलको कार्यकर्ताबाट खेदिएको भन्दै पोस्ट गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ५ : १७ बजे