बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

छथर जोरपाटी गाउँपालिका : स्वास्थ्य बिमा बापतको ५० प्रतिशत रकम तिरिदिने



काठमाडौं । छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिकको ५० प्रतिशतमै स्वास्थ्य बिमा गरिदिने भएको छ । स्वास्थ्य बिमाको लागि रकम तिर्न नसक्दा उपचारमा लाखौं खर्च गर्न परेको र बिमा नगरेका कारण कतिपयले मृत्युबरण समेत गर्नु परेको स्थिति रोक्न पालिकाले आधा मै बिमा गरिदिन लागेको हो ।

नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक लाख बराबरको स्वास्थ्य बिमामार्फत उपचार सेवा दिँदै आएको छ ।

गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्य बिमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । ‘हामी निर्वाचत भएपछि गाउँपालिकामा रहेका सबै नागरिकले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने उदेश्यका साथ यो कार्यक्रम अघि सारेका हौ । गाउँपालिकामा रहेका १८ हजार तीन सय ९४ जनसंख्या तीन हजार नौ सय २२ घरधुरीलाई प्रत्यक्ष सेवा दिने लक्ष्यका साथ सहयोग गर्ने तयारी गरेका छौ ।’ उनले भने ।

यो कार्यक्रमसँगै गाउँपालिकामा रहेका पाँच जनाको परिवारले १७ सय ५० रुपैयाँमा स्वास्थ्य बिमा गर्न पाउने भएका छन् । स्वास्थ्य बिमाको बारे गाउँगाउँमा महत्व र आवश्यकताको महसुस दिलाउने भएको छ । स्वास्थ्य बिमामा गाउँपालिकाले सहयोग गर्ने भएपछि सर्वसाधारणले राहात पाउने भएका छन् ।

गाउँपालिकाले सुत्केरी पोषण भत्ता कार्यक्रम अन्तर्गत मासिक एक हजार दिने तयारी गरेको छ । आठ पटक गर्भ जाँच गरीसकेका सुत्केरीलाई एकमुष्ठ नौ हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ४० बजे