श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

बुढेसकालमा नागरिकता पाएकी मुसहरः पैसा नलिई खेतमा काम गरिरहिन्



काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका बबरगञ्जकी तारादेवी सदा मुसहरले बुढेशकालमा नागरिकता पाएकी छन् ।

नागरिकता नबन्दा १५ वर्षदेखि एकल महिलाको भत्ता पाउनबाट बञ्चित बन्दै आएकी तारादेवीले अन्ततः जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएकी हुन् । उनलाई चन्द्रनगर गाउँपालिका र सामाजिक परोपकारका क्षेत्रमा क्रियाशील भोर नामक संस्थाको पहलमा नागरिकता दिलाइएको हो । मुसहरले नागरिकताकै लागि अर्काको खेतमा पैसा नलिई कामसमेत गरेकी थिइन् । धेरै जनालाई हारगुहार गरे पनि नागरिकता पाउन सकेकी थिइनन् ।

उनले नागरिकता बनाइदिने आश्वासनमा परेर पैसाबिनै अर्काको काम गरेर लामो समय बिताएकी थिइन् । आर्थिक अवस्थाले कमजोर मुसहरले नागरिकता नबनेकै कारण विगत १५ वर्षदेखि एकल महिलाको भत्तासमेत पाउन सकेकी थिइनन् । उनले नागरिकता बनाउनकै लागि हजारौं रुपैयाँ ठगीमा परेको बाध्यता बताएकी छन् ।

मुसहरले विवाह गरेको करिब २० वर्षपछि श्रीमान गुमाएकी थिइन् । मानसिक अवस्था ठिक नभएका उनका श्रीमानलाई प्यारालाइसिस पनि भएको थियो । श्रीमानको नागरिकता भए पनि मुसहरले नेपाली नागरिक परिचय पाउन सकेकी थिइनन् । उनका २ छोरा १ छोरी, २ नाती र २ नातिनी रहेको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए ।

दैनिक ज्यालादारी गरी गुजारा टार्दै आएकी मुसहरले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएपछि मर्ने बेलामा भए पनि नेपाली नागरिक हुन पाएकोमा खुसी व्यक्त गरेको महतोले सुनाए ।

महोत्तरीको गौशाला माइती भएकी मुसहरले आवश्यक कागजात र नागरिकता बनाउने प्रक्रियाको अज्ञानताका कारण पुस्तौदेखि बसोबास गरे पनि आफ्नै देशमा अनागरिक भएर बाच्न बाध्य भएको महतोले बताए । ‘उनले नागरिकता बनाइदिने आशमा कैयौंपटक खेतमा फ्रीमै काम गरिन्, कैयौ‌को पछिपछि लागे पनि नागरिकता प्राप्त गर्न सकेकी थिइनन्,’ उनले भने ।

भोर संस्थाका अध्यक्ष पचुलाल माझीले मुसहरलाई नागरिकता दिलाउन आवश्यक कागजातको व्यवस्थापन र प्रशासन कार्यालय लैजानेसम्मको सहयोग गरेको महतो बताउँछन् ।

माझीले आफ्नो क्षेत्रका नागरिकलाई नागरिकता बनाइदिन सहयोग गरेर नेपाली नागरिक बनाउने अभियान नै बनाएका छन् । उनले कतिपय स्थानीयलाई ट्याक्टरमा लगेर, कैयौंलाई प्राविधिक सहयोग गरेर नागरिकता बनाइदिँदै आएका छन् । माझीले अब ६ जनाको नागरिकता बनाउन सके आफ्नो टोल नागरिकतायुक्त टोल बन्ने बताए ।

नागरिकता बनेपछि भने मुसहरले अब एकल भत्ता पाउने भएकी छन् । आफूले काम गर्न नसके पनि भत्ताको पैसाले पेट पाल्न सके बाँच्ने आशा उनमा छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ५१ बजे