बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

विप्लवको विद्यार्थी संगठनद्वारा धादिङमा विद्यालय भवन निर्माण



काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले धादिङको बेनिघाट(रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमानामा पर्ने च्यात्रा गाउँमा विद्यालय भवन निर्माण गरेको छ। शुक्रबार संगठनले एक कार्यक्रम आयोजना गरी भवन उद्घाटन गरेको छ ।

विद्यालयको उद्घाटनमा नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल, अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीलगायतका नेता कार्यकर्ता पुगेका थिए । धादिङ जिल्लाको अति विकट त्यस बस्तीमा यसभन्दा पहिले विद्यालय थिएन ।

नजिकको विद्यालय पनि तीन घण्टाको दुरीमा रहेको र भिरालो वाटो भएकोले बालबालिका पढ्ने अवसरवाट वञ्चित थिए । २५ घरधुरी रहेको यस गाउँमा करिब ५० को संख्यामा विद्यालय जाने उमेरका बालबालिका रहेको अखिल (क्रान्तिकारी) का अध्यक्ष शाहीले बताए ।

अखिल (क्रान्तिकारी) ले आफ्नै लगानी, श्रमदान र स्थानीयसंगको सहकार्यमा ४ कोठे विद्यालय भवन निर्माण गरेको हो । उद्घाटनलगत्तै विद्यालयमा पढाइ सुरु भएको छ र ३० जना बालबालिका नियमित आउने गरेको शिक्षक अस्मिता घलानले बताइन् ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १० : ०० बजे