श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सी र पुटिनले जी(२० बैठकमा भाग लिने



बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा आयोजना हुने ग्रुप अफ २० ९जी२०० को शिखर बैठकमा भाग लिने योजना बनाएको इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले बताएका छन् ।

जोकोवीको उपनामले समेत चिनिने विदोदोले ब्लूमबर्ग न्युजलाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘त्यस बैठकमा सी जिनपिङ आउने पक्का छ । राष्ट्रपति पुटिनले पनि मलाई आफूले पनि सहभागिता जनाउने बताएका छन् ।’ विश्वकै दुई शक्तिशाली नेताले यस शिखर बैठकमा भाग लिने यो पहिलो ‘कन्फर्मेसन’ हो । साथै रुसले युक्रेनमा आक्रमण गरेपछि र चीनको ताइवानसँग तनाव चर्किएपछिको यो पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलन हुनेछ ।

यसैबीच सन् २०२० मा कोभिड १९ महामारीको कारण मुलुकका सिमानाहरू बन्द गरेयता सीले पहिलोचोटि यस बैठकमा भाग लिन मुलुक छाड्नेछन् । उनले गत १ जुलाई हङकङ चीनलाई हस्तान्तरण गरिएको २५ औँ वर्षगाँठ मनाउन एक पटक मात्र मुख्य भूमि छाडेका थिए ।

जी२० बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनको पनि सहभागिता रहने अपेक्षा गरिएको छ । तर, त्यसबेला बाइडेन र पुटिनको भेटघाट हुनसक्ने कुरा स्पष्ट भइसकेको छैन । विभिन्न सञ्चार माध्यमकाअनुसार उक्त बैठकको सिलसिलामा वा त्यस भन्दा अघि नै बाइडेन र पुटिनको भेट हुने सम्भावना रहको छ ।

वासिङटन र बेइजिङबीचको सम्बन्ध मानव अधिकार मामिला र व्यापारका विषयलाई लिएर चिसिँदै आइरहेकोमा हालै अमेरिकी प्रतिनिधि सभाकी सभामुख नान्सी पेलोसीले गरेको ताइवानको विवादास्पद भ्रमणको कारण आपसी सम्बन्धमा अझै तनाव थपिएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : ०७ बजे