चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

सिट बाँडफाँट गर्न बनेको कार्यदलले ७ गते प्रतिवेदन बुझाउँदै



काठमाडौँ । सिट बाँडफाँट गर्न बनेको कार्यदलले ७ गते प्रतिवेदन बुझाउने भएको छ । आगामी संसदीय निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न बनेको ११ सदस्यीय कार्यदलले आगामी ७ भदौसम्ममा प्रतिवेदन गठबन्धनमा बुझाउने भएको छ।

कार्यदल सदस्य एवम् जनमोर्चा नेता हिमलाल पुरीका अनुसार ७ गतेभित्र सिट बाँडफाँट सुझावसहितको प्रतिवेदन पेश गर्ने तयारी छ।

‘हामीले गठबन्धनका दलबीच १ सय ६५ सिटको बाँडफाँट मोडालिटीसहितको सुझाव प्रस्ताव बुझाउँछौँ,’ पुरीले भने, ‘७ गतेभित्रै प्रतिवेदन शीर्ष नेतालाई दिन्छौँ।’

समितिले दलहरूको विगत र वर्तमान अवस्थासमेत विश्लेषण गर्दै सिट संख्या बाँडफाँट गर्नुपर्ने निष्कर्ष निकालेको छ।

२० साउनमा बनेको कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की छन्।

यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी ९जसपा० बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन्।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ६ : ४१ बजे