श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नागरिकता विधेयक आजै पारित गर्ने तयारी



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा संसद्ले विधेयक पारित तयारी गरेको हो। विधेयक पारितको सम्भावित कार्यसूची बुधबार प्रकाशन भइसकेको छ।

राष्ट्रपतिले साउन २९ गते सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गर्नुभएको थियो। साउन ३० गते विधेयक फिर्ताको सन्देश प्रतिनिधि सभामा पेस गरिएको थियो। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सरकारसँगको परामर्शका आधारमा सम्भावित कार्यसूची तय गरिएको बताए । उनले भने, “विधेयक चाँडो अघि बढाउने सरकारको तयारी छ। भोलि नै सबै प्रक्रिया पूरा हुन सक्छ।”

सत्ता गठबन्धनमा आबद्ध दलहरूले विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै अघि बढाउने समझदारी गरेको थियो। गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि सभामा बिहीबार गृहमन्त्री खाणले सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् प्रस्ताव पेस गर्नुहुनेछ। त्यसपछि सन्देशमा उठाइएका विषयमा आधारित भएर छलफल हुनेछ। छलफलपछि विधेयक पारितको कार्यसूची रहनेछ।

यस पटक पनि विधेयक समितिमा नपठाई सदनबाटै पारित गर्न लागिएको हो। यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया ‘फास्ट ट्र्याक’मै अघि बढेको थियो। विधेयक दफावार छलफल समितिमा नपठाई सदनमै भएको थियो। पारितका अन्य प्रक्रिया भने यथावत् राखिएको थियो। राष्ट्रिय सभामा पनि विधेयक समितिमा नपठाई छलफल गरेर पारित गरिएको थियो। राष्ट्रपतिको सन्देशअनुसार विधेयक पुनर्विचार गर्न चाहेमा उक्त प्रक्रिया भने सदनमा पनि पूरा हुन सक्नेछ। संसद्ले विधेयकलाई यथास्थितिमा वा परिमार्जन गरेर पठाउन सक्ने सुविधा छ। प्रतिनिधि सभाको प्रक्रिया पूरा भएपछि विधेयक राष्ट्रिय सभामा जानेछ। दुवै सदनबाट पारित विधेयक प्रमाणीकरणका लागि पेस भएको १५ दिन प्रमाणीकरण हुनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १० : ५२ बजे