बैशाख १४, २०८१ शुक्रबार Sat Apr 27 2024

फलामको पाइपले कुटिए होटल सञ्चालक, २ जना पक्राउ



काठमाडौं । चन्द्रागिरी नगरपालिका–७ थानकोटमा रहेको राजु खाजा घरका सञ्चालक राजु केसीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–५ का ३० वर्षीय सागर प्रकाश श्रेष्ठ र नुवाकोटको बिदुर नगरपालिका–५ का ३३ वर्षीय आकाश भनिने प्रमोद बोगटी छन्। उनीहरुलाई साउन २८ गते सानो भर्‍याङ र बाफलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए।

साउन २४ गते दिउँसो १ बजेतिर खाजाघरमा प्रवेश गरेर दुई युवकले केसीमाथि फलामको पाइपले कुटपिट गरेर फरार भएका थिए। कुटपिटबाट श्रीमान् गम्भीर घाइते भएको भन्दै केसीकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी अनुसन्धानको क्रममा प्रदेश ३–०२–००५ प ३६४० नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले कुटपिट गरेर फरार भएको खुलेको थियो। त्यसपछि कुटपिटमा संलग्नहरुको पहिचान गर्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

करिब एक हप्ताअघि खाजा खान जाँदा केसीसँग विवाद भएको र त्यही रिसिइबीका कारण कुटपिट गरिएको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुबै जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : २५ बजे