बैशाख ३०, २०८१ आइतबार Sun May 12 2024

पार्टीको आज्ञा र वडावासीको चाहनामा मेरो उम्मेदवारी : अध्यक्ष केसी



रामकुमार केसी, अध्यक्ष वडा नम्बर १०, काठमाडौं महानगरपालिका

पाटन संयुक्त क्याम्पसबाट राजनीतिमा हात हालेका स्थापित नेता हुन् रामकुमार केसी । काठमाडौंमा जन्मिएका केसी नेपाली कांग्रेसका इमानदार नेता र समाजसेवी भनेर चिनिन्छन् । जनताका कामप्रति सधैं दत्तचित्त केसी कर्मठ नेता र स्पष्ट वक्ताको रुपमा गनिन्छन् । सेवाभावले ओतप्रोत उनी जनप्रतिनिधिले राजनीति पूर्वाग्रह नगराखी जनताको काम समान रुपले गर्नुपर्ने बताउँछन् । केसीले आफ्नो चुनावी एजेन्डामा सुशासन, सरसफाइलाई र नागरिकमैत्री स्थानीय सरकारलाई प्रमुख बनाएका छन् । यिनै समसामयिक विषयमा केन्द्रित रहेर अध्यक्ष केसीसँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं नेपाली कांग्रेसको तर्फबाट कामनपा १० मा वडा अध्यक्ष उठ्नुभएको हो ?
हो । ममैले यस वडामा अघिल्लो पाँच वर्षे कार्यकाल पुरा गरिसकेको छु । आसन्न स्थानीय तहको निर्वाचनमा पनि मलगायत अघिल्लो कार्यसमितिका हामी पाँचै जनालाई नेपाली कांग्रेसले यस वडामा फेरि जनप्रतिनिधि भएर सेवा गर्ने अवसर दिएको छ । अहिले हामी चुनावी मैनावी मैदानमा होमिएका छौं । बहुदल आइसकेपछिको पहिलो स्थानीय तहको निर्वाचमा बन्द्रीप्रसाद खरेल यो क्षेत्रबाट वडा अध्यक्ष उठ्नुभएको थियो । त्यतिबेला वडा अध्यक्षको मात्रै चुनाव हुन्थ्यो । सदस्यहरु सबै पार्टीले मनोतिन गर्दथे । त्यतिबेला पार्टीले मनोनित गरेकोमध्येमा एकजना म पनि परेको थिएँ ।

त्यसरी पार्टीले मनोनित गर्दा म, ऋषिराज आचार्य, केदार तन्दुकार र रिता थापा गरी चारजना सदस्य मनोनित भएका थियौं । त्यसपछिको कार्यकालमा बद्रीप्रसाद खरेललाई नै उम्मेदवार बनाएर उहाँलगायत टिमैसमेत जितायौं । यसरी १८ वर्षे राजनीति यात्रामा पार्टीमा इकाइसभापति हुँदै वडा अध्यक्षको नेतृत्व गरेर चारजना सदस्य र म वडा अध्यक्षसमेत जित्न सफल भयौं । त्यसमा हाम्रो वडाबाट मेयर, उपमेयरसमेत जितेका थियौं । अन्यत्रबाट भोट कम भएकाले मेयर पद एमालेका विद्यासुन्दर शाक्यको पोल्टामा पुग्यो । कामनपाको ३२ वडावटा वडामा हामी नेपाली कांग्रेसले १४ वटा वडा मात्रै जित्न सफल भयौं । मेयर एमालेले जितेपनि उप–मेयर हामीले जितेका थियौं । समग्रमा नेकपा एमालेको यस महानगरमा बहुमत आयो । त्यसका बाबजुद पनि हामीले जनताका इच्छा, आकांक्षा अनुरुप काम गर्न धेरै प्रयास ग¥यौं ।

अहिलेसमेत राजनीति क्षेत्रमा कतिपटक पद धारण गरिसक्नुभयो ?
म दुई पटक राजनीतिक पद धारण गरेर जनताको सेवा अवसर पाएको छु । बहुदलपछिको पहिलो स्थानीय निर्वाचनमा सदस्य र २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष विजयी भएर काम गरिसकेको छु । अहिले फेरि पार्टी, यहाँका अग्रज नेता, कार्यकर्ता र सर्वसाधारणको समर्थन र सहयोगमा वडा अध्यक्षको उम्मेदवारी दिएको छु । पार्टीको कुरा गर्नुपर्दा तीनपटक इकाइसभापति भएर काम गरेको छु ।

दोहोरिएर वडा अध्यक्षमै उठ्नुपर्ने कारण के ?
सबैलाई जगजाहेर छ । विगतको पाँच वर्षमा काठमाडौंलगायत देशैभर विकास निर्माणको काममा विभिन्न चुनौतिहरु रहे । हामी जनप्रतिनिधिहरुले चुनावका बेला जनतासमक्ष घोषणा गरेका काम गर्न वाधा प¥यो । विगत पाँच वर्षे कार्यकालमा एक वर्ष नियम कानुन बनाउनै लाग्यो । अरु दुई वर्ष कोभिड कहरले आक्रन्त बनायो । त्यसमा डेढवर्ष मात्रै राम्रोसँग काम गर्न पाइयो । पाँच वर्षमा गर्नुपर्ने काम जम्मा डेढ वर्षमा कति गर्न सकिन्छ ? त्यतिहुँदाहुँदै पनि हामीले धेरै काम गर्ने प्रयासहरु ग¥यौं । कतिपय पुरा भइसकेका छन् कति हुने चरणमा पुगेका छन् । कति समय अभावका कारण परिपूर्ति हुन बाँकी छन् । त्यसलाई पूर्णता दिनुछ । साथै मुलुक संघीयतामा गइसकेपछि जनताले त्यसको अनुभूति गर्ने गरी तल्लो तहसम्म पुग्न भ्याइएको छैन । यी सबैलाई ख्याल गरेर जनताको चाहना र मेरो रोडम्याप अनुसार काम गर्न मेरो उम्मेदवारी हो ।

पहिलाको बाँकी काम परिपूर्ति गर्नका लागि तपाईंको पुनः उम्मेदवारी हो ?
त्यो मात्रै भन्न चाहन्न । विभिन्न समस्या र अवरोधका बाजुद पनि हामीले प्रतिवद्धता गरेका ८० प्रतिशत काम पुरा गरेका छौं । बाँकी २० प्रतिशतमा परेका कुराहरु पनि उच्च महत्वका साथ अगाडि सारेका छौं । फेरि म वडा नं. १० मा मेरो व्यक्तिगत चाहनाले मात्रै उठिरहेको छुइन । कुनै व्यक्तिविशेषले स्वतन्त्र उम्मेदवारी दिनु भिन्दै कुरा हो । तर, पार्टीले मूल्यांकन गरेर र जनताले अनुमोदन गरेर उठाएको व्यक्तिको भिन्दै पहिचान हुन्छ । त्यसैले म कठमाडौं महानगरपालिकाको वडा नं. १० मा पार्टीका अग्रज नेता, कार्यकर्ताको अनुमति र यहाँका सर्वसाधारण जनताको चाहनामा नेपाली कांग्रेसको तर्पmबाट उम्मेदवार बनेको हुँ ।

टिकट लिनको रस्साकस्सी गर्ने प्रतिस्पर्धी कति जना हुनुहुन्थ्यो ?
हामीले टिकटको प्रतिस्पर्धा गरिरहँदा ७, ८ जनाको रस्साकस्सी थियो । त्यसबेला पनि विभिन्न भेटघाट, छलफल बहसहरु भइरहँदा कतिपयले एकपटक रामकुमारलाई नै दिऔं भन्थे । कतिले के भन्थे । कतिपयले अब म हुनुपर्छ भन्नुहुन्थ्यो । तर, बहुत पक्षहरुले मलाई नै समर्थन गर्नुभयो । पार्टीले पनि अब एकपटक रामकुमार केसी नै हुनुपर्छ भनेर निर्णय ग¥यो । यस वडाका वडा कार्यसमिति कांग्रेसका नेता, कार्यकर्ता र साथीहरुले पनि यसपटक रामकुमार केसीलाई दिऔं भनेर निर्णय गर्नुभयो । त्यसकारण म मेरो व्यक्तिगत इच्छाले दोहोरिएर आएको होइन । पार्टीको आज्ञा र जनताको चाहनाले म कामनपा –१० को अध्यक्षमा उम्मेदवार बनेको हुँ ।

परिवर्तन कुरा उठिइँरहँदा नेतृत्व चाहीं परिवर्तन हुनुपर्दैन ?
नेतृत्व परिवर्तन त्यतिबेला मात्रै आवश्यक छ । जतिबेला पहिलाको नेतृत्व अक्षम हुन्छ । सवल सक्षम छ भने व्यक्ति परिवर्तनको आवश्यक देखिँदैन । म वडा अध्यक्षमा समक्ष छ, काम राम्रो गरिरहेको छु भने होइन तिमीले एकपटक खाइसक्यौं अब म हुनुपर्छ भन्दा त झन् नराम्रो म्यासेज जान्छ । त्यो व्यक्तिले राम्रो कामै गर्दैन । जति राम्रो काम गरेपनि जिन्दगीमा राजनीतिक पद पाउने एकपटक मात्रै त हो नि भन्ने भएपछि त्यो पाँच वर्षे कार्यकालमा भ्रष्टाचार ह्वात्तै बढेर गयो भने के हुन्छ ? त्यसैले कुनै पनि पद, ठाउँमा सहवल, सक्षम, उपयुक्त र राम्रो काम गरिरहेको छ भने दोहोरिएर आउनु झन् राम्रो हो । त्यसले अरुलाई पनि राम्रो काम गरियो भने राजनीतिमा पटक–पटक अवसर पाइने रहेछ भनेर सकारात्मक सन्देश जान्छ ।

इमानदारीपूर्वक काम गर्दा राजनीति मात्रै होइन सबै ठाउँमा सम्भावना छ हो ?
म भनेको पार्टीको प्रतिनिधि मात्र हो । व्यक्ति रामकुमारको ठाउँमा अर्को पनि हुनसक्छ । तर, पार्टी र वडा कार्यसमितिलाई हाक्न सक्ने । नगरपालिकामा भनेर आवश्यक बजेट ल्याउन सक्ने क्षमता भएको वडा अध्यक्ष पनि हुनुप¥यो । मसँग पार्टीमा पनि लामो समय काम गरेको अनुभव छ । त्यसैगरी वडा कार्यसमितिमा वडा सदस्य र अध्यक्ष चलाइसकेको अनुभव छ । त्यसकारण पनि मलाई काम गर्ने आँट र साहस छ । फेरि मैले गरेका सबै काम राम्रो छ, कमीकमजोरी छैनन् पनि भन्दिँन । कतिपय ठाउँमा कमीकमजोरीहरु भएका होलान् । त्यसलाई सच्याएर १० नम्बर वडालाई काठमाडौंको नमुना वडा बनाउने गरी काम गर्ने इच्छा छ । त्यसको लागि अहिलेको प्रविधिलाई उपयोग गर्न सिस्टममा ल्यानु जरुरी छ । सिस्टममा गइसकेपछि जो आएपनि काम गर्न सजिलो हुन्छ । त्यसकारण सिस्टम बनाउनको लागि पनि मैले वडा अध्यक्षमै दोहो¥याएको हुँ ।

काठमाडौं महानगरपालिका १० का वडावासीले तपाईंलाई नै भोट दिनुपर्ने कारण के ?
मलाई त काठमाडौं महानगरपालिका वडा नम्बर १० मा बसोवास गर्ने नेपाली कांग्रेस समर्थित मात्रै होइन, एमाले, माओवादी, राप्रपालगायतका दलहरुकोसम्म तपाईं हुनुपर्छ भन्ने साथ, सहयोग छ । उहाँहरुले मलाई ‘रामकुमार केसी जुझारु, विकास प्रेमी नेता हो, तर अलि रिसाउँछ’ भन्ने कुरा गर्नुहुन्छ । उहाँहरुले त्यसो भनिरहँदा मलाई अझ सुधारिनुपर्छ कि भन्ने लाग्छ । यहाँका कांग्रेसलगायत अन्य पार्टीका साथीहरुले रामकुमार सबैका काम गर्ने मान्छे हो । उहाँ हुँदा हामीलाई कुनै आपत्ति छैन । सबैको काम गर्ने मान्छे हो । उसले भ्रष्टाचार गर्दैन, काम गर्दा राजनीति पूर्वाग्रह राख्दैन भन्ने सबैको धारणा छ ।

मैले पनि म वडा अध्यक्ष भएर कर्सीमा बसिरहँदा वडावासीहरु समस्या लिएर आउँदा सबैको समान रुपमा काम गरेँ । आउँदा दिनमा पनि भलै म नेपाली कांग्रेसको तर्फबाट चुनाव लडेको छु । तर, वडावासीको काम गर्दा पार्टीगत राजनीतिबाट माथि उठेर काम गर्ने छु । यो अर्को पार्टीको हो, यसको काम रोक्नुपर्छ, विकास रोक्नुपर्छ भन्ने कहिल्यै सोचाइ भएन र आउँदा दिनमा पनि त्यसो गर्ने छैन । पहिलो पटक वडा अध्यक्षमा विजयी भएको भोलिपल्ट मसँग प्रतिस्पर्धी श्यामलाल तन्दुकार हुनुहुन्थ्यो । उहाँसँग मैले ‘तपाईं हामी टोलवासी दाजुभाइ हो, मैले चुनाव जितेँ । अब तपाईं हामी भएरै काम गर्ने हो । तपाईंको टोलमा केकस्ता विकास निर्माणका काम छन् ल्याउनुस् भन्दा उहाँ छक्क पर्नुभयो । उहाँ थोरै भोटले पछाडि पर्नेभयो । म थोरै भोटले अगाडि परेँ त्यति न हो । म समाजसेवामा लागेको, उहाँ पनि समाजसेवामै लागेको मान्छे हो । यसकारण पनि मलाई चुनाव जित्न सहज छ ।

वडा अध्यक्षमा निर्वाचित भएपछि साझा रुपमा जनताको काम गर्नुहुन्छ हो ?
पार्टीभित्र म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । तर, जनताबाट चुनिएर गइसकेपछि म यहाँका जनताको साझा प्रतिनिधि हो । पार्टीमा म यस वडाको इकाइ सभापति नेपाली कांग्रेस हो । तर, वडा कार्यालयमा पुगेपछि रामकुमार केसी वडा कार्यालयको अध्यक्ष हो । त्यो कुर्सीमा बसेपछि यस वडाका जुन व्यक्तिको काम भएपछि समान रुपले गर्नुप¥यो । तर, कतिपय वडाहरुमा यो छैन । एकले अर्काविरुद्ध कानेखुसी गर्ने कुरा लगाउने । काम गर्न वाधा पु¥याउने, पार्टीगत रुपमा पूर्वाग्रही ढंगले प्रस्तुत हुने चलन छ । तर मैले हिजो पनि पूर्वाग्रह नराखीकन सबैको साझा रुपमा काम गरेँ र आउँदा दिनमा पनि म वडावासी सबैको साझा ढंगले काम गर्ने छु ।

अन्त्यमा वडावासीहरुलाई के भन्नुहुन्छ ?
वडावासी आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरुलाई म के भन्न चाहन्छु भने तपाईंले मलाई यसअघि पनि वडा अध्यक्ष हुने मौका दिनुभयो । आगामी ३० गतेको हुने स्थानीय तहको निर्वाचनमा म फेरि वडा अध्यक्षको उम्मेदवार बनेर आउँदैछु । त्यसमा तपाईंहरुले साथ, सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वास गर्दछु । म नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेर चुनाव लड्न आइरहँदा पनि चुनाव जितिसकेपछि भोट दिन नदिने सबैको साझा रुपमा काम गर्ने छु । यस वडाको समस्या भनेको शान्ति सुरक्षा, खानेपानी व्यवस्थापन र ढलनिकास महत्वपूर्ण कुरा हो । शान्तिसुरक्षाको लागि सीसी क्यामेराको व्यवस्था गर्ने छु ।

ट्राफिक व्यवस्थापन र पार्किङको समस्या समाधानका लागि लागिपर्ने छु । ट्राफिक व्यवस्थापनको लागि बागमती, विष्णमतीलगायतका नदीमा करिडोरको व्यवस्थापन गर्नुपर्ने छ । करिडोरको अवधारणा काठमाडौं महानगकापालिकाका पूर्व मेयर पीएल सिंहले ल्याउनुभएको हो । अहिलेसम्म जेजति करिडोर बनेका छन् । त्यसको श्रेय नेपाली कांग्रेसका नेता तथा पूर्व मेयर पीएल सिंहलाई जान्छ । उहाँले भनेअनुसारको करिडोर बनाइएको भए अहिले काठमाडौंमा ट्राफिक जाम हुने थिएनन् ।

उहाँले बनाएको मापदण्डलाई पछि आएका कम्युनिस्ट सरकारहरुले करिडोर साँघुरो बनाउने । सार्वजनिक जग्गा व्यक्तिका नामतिर तान्ने काम गरेर करिडोर साँघुरो भएको हो । त्यसलाई काठमाडौं महानगरमा नेपाली कांग्रेसले मेयरसहित सम्पूर्ण वडामा विजय हासिल गरेपछि व्यवस्थापन गरेर आदरणीय नेता पीएल सिंहको सपना साकार पार्नुछ । त्यसको लागि पनि मलगायत काठमाडौंको मेयर, उपमेयर र वडामा कांग्रेसको जित आवश्यक छ । त्यो काठमाडौंवासीले बुझ्नुहुन्छ भन्ने लाग्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ०९ बजे