बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

जनताको घरघरमा राजनीतिक दल तथा उम्मेदवार



काठमाडौं । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । उम्मेदवारले आफ्नो मनोनयनसमेत दर्ता गराइसकेका छन् । निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशित गरिसकेको छ । केही ठाउँमा दुई वा दुईभन्दा बढी उम्मेदवारको मनोनयन पत्र दर्ता नभएपछि केही उम्मेदवार निर्वाचितसमेत बनी सक्नुभएको छ ।

पछिल्लो समय उम्मेदवार र राजनीतिक दलका प्रतिनिधि जनताको घरघरमा मत माग्न व्यस्त छन् । जिल्लामा १७ वटा निर्वाचन कार्यालयमा दर्ता भएका दलले चुनाव लड्न पाउने छन् । वडा र पालिकामा जनप्रतिनिधि चुन्नका लागि यहाँका मतदातासमेत लालायित भएका छन् ।

यसअघिका निर्वाचनमा भन्दा मतदातासमेत यस पटकको चुनावमा आफूलाई नयाँ के हुन्छ भनेर सोध्नसमेत थालेका छन् । विकास निर्माणका काम निकै कम भएको यसअघि पनि यस्तै हुन्छ कि नयाँ केही काम गरेर देखाउने योजना छन भन्ने प्रश्न उम्मेदवारसँग मतदाताले गरेका छन् ।

पार्टीप्रति आस्था राख्ने एकथरी युवा तथा मतदाता आफूले समर्थन गरेको दललाई नै अघि सारेर हिँडे पनि धेरै मतदाता राम्रा उम्मेदवार छान्न लाग्ने बताउँदै आएका छन् । इलाम नगरपालिका–२ सुम्बेकका किशोर खतिवडा यस पटक पहिलो चोटी मतदान गर्दै हुनुहुन्छ । उहाँले हाम्रालाई भन्दा पनि राम्रा उम्मेदवारलाई जिताउने अठोट लिनुभएको छ ।

जितेर गाउँघर नपुगेका जनप्रतिनिधिदेखि नयाँ अनुहारसहित जनताको घरआँगनमा विभिन्न आश्वासनसहित पुग्न थालेको मतदाताको भनाइ छ । यसअघिका चुनावमा नेताले धेरै आश्वासन देखाए पनि दिएका धेरै आश्वासन पूरा हुन सकेनन् । जनताले अब भने पूरा गर्नसक्ने खालका घोषणापत्र मात्र निर्माण गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्दै आएका छन् । जिल्लामा पालिकास्तरका घोषणापत्र सार्वजनिक हुन थालिसकेका छन् ।

राजनीतिक दल तथा प्रशासनले समेत जनतालाई ढुक्क भएर मतदानको व्यवस्था मिलाउन लागि परेका छन् । जिल्लामा दुई लाख २४ हजार ७४८ मतदाता रहेका छन् । जसमा एक लाख १५ हजार ७५४ पुरुष र एक लाख नौ हजार १९२ जना महिला मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालले जानकारी दिएको छ । जिल्लामा १५१ मतदानस्थल र २८५ मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : ३४ बजे