बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा महत



काठमाडौं । रामेछापको लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा केशव महत अध्यक्षका प्रत्यासी बनेका छन् । महतले २०४६ सालको आन्दोलनमा पाटन संयुक्त क्याम्पसको इकाइ सभापतिको हैसियतले सक्रियतापूर्वक सहभागिता जनाएका थिए ।

त्यसैगरी २०४८ सालको आमनिर्वाचन, २०४९ सालको स्थानीय निर्वाचन, २०५१ सालको मध्यावधी निर्वाचन, २०५४ सालको स्थानीय निर्वाचनमा महतको भूमिका त्यत्तिकै महत्वपूर्ण रहेको थियो । त्यस्तै २०५६ सालको आमनिर्वाचनमा कांग्रेसलाई चुनाव जिताउने अभियानमा सक्रिय हुँदा एमालेसँग झडप भइ महत गम्भीर घाइते भएका थिए ।

त्यसैगरी महत २०६२/६३ जनआन्दोलनमा सक्रियतापूर्वक लागिपर्दा पक्राउ परी एक हप्ता प्रहरी हिरासतमा परेका थिए । उसोत महत नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा क्षेत्रीय सभापति, १३ औं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य र १४ महाधिवेशनमा आइपुग्दा कांग्रेस प्रदेश सभापति प्रत्यासी थिए ।

यसरी नेपाली कांग्रेसका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका महत आसन्न स्थानीय तहको निर्वाचनमा लिखुतामाकोशी गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका छन् । रामेछापका स्थायी वासिन्दा महत एक सिद्धान्त निष्ठ र इमानदार नेताको रुपमा गनिन्छन् ।

उनी लिखुतामाकोशी गाउँपालिकामा खड्किएका विभिन्न समस्यालाई चुनावी घोषणापत्रमा समेटेर चुनावी मैदानमा उत्रिएका छन् । उनले धोवीमा निर्माणाधिन १५ बेडको अस्पताललाई समयमै काम सम्पन्न गरी सेवा थाल्ने बताएका छन् । त्यस्तै प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरी दक्ष चिकित्सको व्यवस्था गर्ने पनि बताएका छन् ।

त्यस्तै खिम्ति पीएचसीको स्तरोन्नती गरी दक्ष जनशक्तिको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । खानेपानीको मूहान पहिचन गरी एकघर एकधाराको व्यवस्था गर्ने पनि बताएका छन् । पशुचौपायलाई खानेपानी व्यवस्थाको लागि सार्वजनिक ठाउँमा पोखरी निर्माण गर्ने । त्यसैगरी सडक निर्माणको क्षेत्रमा पाँचवर्षे कार्ययोजना बनाएर सडक निर्माणका लागि प्रतिवद्धता व्यक्त गरेका छन्।

त्यसमा हलेदे–नागदह–घोबी–शिरिसे–ढाँडे सकड पीच गर्ने, खिम्ति–धोबी सडक पीच गर्ने, धोबी ढिर्लारी–जगमाने बासे सडकलाई राष्ट्रिय सकडको मापदण्ड अनुसार स्तरोन्नती गर्ने, धोबी–दिर्लारी–सैपू–दुरागाउँ–होपिनाहुँदै भूजि जाने सडक स्तरोन्नती र पीच गर्ने, धोबी–काङवा, धोबी–चिलाउने, खोल्मगाउँ, कोटगाउँ–रातमाटा, कोटगाउँ कल्लेरी पोकुवेसी, रातमाटा– शिरिसे, भूमेडाँडा–महतगाउँ, पिप्ले, नागी–पहरे, डाँडे–सैपु, कटहरे, चावाखर्क, पिपलदीप, गैरी–धोबी, डिही–ताप्के, तिलपुङ घुम्तिलगायतका सम्पूर्ण सडक स्तरोन्नती गर्ने पनि महतले प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी शिक्षाको क्षेत्रमा पनि उल्लेख्य विकास गर्ने जनाएका छन् । लिखुतामाकोशी गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने, गुणस्तरीय, व्यवसायिक र सीपमुलक शिक्षालाई विशेष जोड दिने ।

विद्यार्थी–अविभावकबीच र शिक्षक–अविभावकबीच अन्तक्र्रिया मार्फत  समस्या पहिचान गरी समाधानका उपाय पहिल्याउने । तल्लोदेखि माथिल्लो कक्षासम्मका विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि आधुनिक सिकाइ योजना ल्याउनेलगायतका कार्ययोजना महतको रोजाइमा छन् ।

त्यस्तै शान्ति सुरक्षाको अमन चयन गराइ असल शासनको थालनी गर्ने पनि जनाएका छन् । त्यस्तै बिजुली बत्तिको सहज, सरल र सबैको पहुँचमा पु-याउने महत बताउँछन् । धुम्रपान, मध्येपानलाई निरुत्साहित गर्न विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गर्ने ।

गाउँपालिका र वडा कार्यालयलाई नागरिकमैत्री बनाउने । वडा कार्यालयबाट हुने जनताका कामहरु छिटो, छरितो र चुस्तदुस्त बनाउने । युवाहरुका लागि स्वरोजारमुखी विभिन्न कार्यक्रमहरु ल्याउने ।

सीपमुलक तालिम, कृषि उत्पादन तथा पशुपालनलाई प्राथमिकतामा राखेर काम गर्नेलगायत विषय आफ्नो प्रमुख कार्ययोजना भएको महतले बताए । अध्ययन तथा रोजगारीको सिलसिलामा विदेसिएका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेमा महतले जोड दिएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ११ बजे