चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक जेनेभा प्रस्थान



काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीनदिने भ्रमण पूरा गरी आज जेनेभातर्फ प्रस्थान गरेका छन् ।

उनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा थिए । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू पनि आजै जेनेभा प्रस्थान गरे ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।

महानिर्देशक नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाई गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ४ : २६ बजे