चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन अध्यक्ष दाहालको अपिल



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताएका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडामा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भनेका छन्, ‘आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र जनसमुदायमा विशेष अपिल गर्दछु ।’

भ्लादिमिर इलिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष दाहालले न्याय, समानता र स्वतन्त्रताको सङ्घर्षमा बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । रुसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको स्मरण गर्दैै उनले कम्युनिष्ट क्रान्तिकारीको अगुवाइ र लोकतान्त्रिक शक्तिको हिस्सेदारीमा पूँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको बताएका छन् ।

‘देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा रहेको छ, यो हामी सबै नेपालीका लागि गौरवको कुरा हो’, अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिको साझा सङ्घर्षको परिणाम तत्कालका लागि प्रतिगमन पराजित हुन पुगे पनि खतरा पूर्णतः अन्त्य नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ४० बजे