चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

न्यून सङ्ख्याले मात्र बुझाए हातहतियार



लमजुङ । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङद्वारा जिल्लामा रहेका सबै इजाजत हातहतियार बुझाउन आग्रह गरे पनि न्यून सङ्ख्याले मात्र हातहतियार बुझाएका छन् ।

प्रशासनले गत चैत १४ गते एक सूचना जारी गर्दै निर्वाचनपश्चात् फिर्ता हुनेगरी इजाजत हातहतियार नजिकैको प्रहरी कार्यालय, प्रहरी चौकीमा गत चैत ३० गतेभित्रसम्म बुझाउन आग्रह गरेको थियो ।

प्रशासनमा विभिन्न प्रकारका गरी एक हजार १०० भन्दाबढी हातहतियार दर्ता भएको तथ्याङ्कमा उल्लेख छ । तर हालसम्म पनि जिल्लाभरिबाट जम्मा ६६ थान इजाजत प्राप्त हातहतियार मात्र बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताए ।

उनले भने, ‘आगामी निर्वाचन लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त व्यक्तिलाई हतियार बुझाउन अनुरोध गरे पनि निर्धारित समय कटेर यतिका दिन हुँदासमेत हतियार बुझाउने सङ्ख्या वृद्धि भएन ।’

निर्वाचनमा उच्च सतर्कता अपनाउँदै हातहतियार बुझाउन गृह मन्त्रालयको निर्देशनअनुसार प्रशासनलेसमेत जिल्लामा दर्ता भएका हातहतियार समयमै बुझाउन र यदि नबुझाएमा कानुनी कारबाही हुनेसमेत जानकारी गराएको थियो ।

यसैबीच आगामी निर्वाचनमा जिल्लामा १२३ मतदान केन्द्र र १८२ मतदानस्थल कायम गरिएका छन् । जिल्लामा २२ अतिसंवेदनशील भनेर वर्गीकरण गरिएको छ भने ८० संवेदनशील र २१ मतदानस्थल साधारण छन् । सबैले हातहतियार नबुझाउँदा थप जोखिमसमेत बढ्नसक्ने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले निर्वाचनलाई लक्षित गरेर हातहतियार बmुझाउन आग्रह गरिए तापनि जिल्लामा न्यूनमात्रामा हातहतियार सङ्कलन भएको बताए ।

उनले भने, ‘हामीले मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेका छौँ, हामीले निर्वाचनमा हुनसक्ने खतरालाई उच्च सतर्कता अपनाउँदै सोहीअनुसार सुरक्षा व्यवस्था गर्नेछौँ ।’ जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी स्थानीय निर्वाचनमा जिल्लामा राष्ट्रिय मान्यता प्राप्त पाँच दलसहित १७ दलले सहभागिता जनाउने भएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : ५० बजे