चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

डाँडाखेतमा सबस्टेशन निर्माण सुरु



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो ।

मालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम सुरु भएको जानकारी दिए । ‘पहिलो चरणमा घेराबार र भवन निर्माण भइसकेको छ’, उनले भने, ‘सबस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्याउने काम भइरहेको छ ।’ सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

आयोजना प्रमुख रोशन अग्रवालले सम्झौतालगत्तै डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको बताए । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन लागिएको हो ।

पच्चीस किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ९० टावर निर्माण हुनेछन् । डाँडाखेत सबस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने भएको छ । यस्तै २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जिआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए ।

एशियाली विकास बैंकको ऋण सहयोगमा प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । डाँडाखेतमा सबस्टेशन बनाउन चार वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ । दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण गरिएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार जलविद्युत् आयोजना निर्माणमा चरणमा छन् ।

धवलागिरि हिमालको फेदबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । सबस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएका प्रवद्र्धक सक्रिय भएका छन् । गैरआवासीय नेपालीको अगुवाइमा धवलागिरि–कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङ निर्माण थालेको छ । धवलागिरि गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण गरिरहेको छ ।

धवलागिरि गाउँपालिका–४ मा नै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना सुरु गर्ने तयारी गरेको छ । अपर हाइड्रोपावर प्रालि काठमाडौँले धवलागिरि र मालिका गाउँपालिकामा बनाउन लागेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पुर्‍याउने काम भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : ०४ बजे