चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

मीनु र सन्जुमाया क्वाटरफाइनलमा



काठमाडौँ । नेपाली सेनाकी मीनु गुरुङ र एपिएफ क्लबकी सन्जुमाया थिङ काठमाडौँमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

महिला ५१ किलो तौल समूहमा गुरुङले मङ्गलबार भएको खेलमा मधेस प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरेकी हुन् । उनी १३औँ दक्षिण एशियाली खेलकुद (साग)की स्वर्ण पदक विजेतासमेत हुन् । यस्तै सोही विधामा एपिएफकी सन्जुमाया थिङले प्रदेश नं १ की सुस्मिता श्रेष्ठलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकी छिन् ।

यस्तै महिला ५७ किलो तौल समूहमा बागमती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशीला थापा तथा प्रदेश नं १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पराजित गरिन् । दुवै जना क्वाटरफाइनल प्रवेश गरेका छन् । यस्तै पुरुष ५२ किलो तौल समूहमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओलीलाई तथा एपिएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

यसैगरी पुरुष ५७ किलो तौल समूहमा नेपाल पुलिस क्लबका शम्भु राजवंशीले सुदूरपश्चिम प्रदेशका रामबहादुर थापालाई तथा एपीएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई हराए । दुवै जना क्वाटरफाइनल प्रवेश गरेका छन् । पुरुष ६३ किलो तौल समूहमा एपीएफका सोनाम सार्कीले सुदूरपश्चिमका वीरेन्द्र रावललाई तथा लुम्बिनीका अनिल पुन मगरले प्रदेश नं १ का तोविन प्रधानलाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

यस्तै पुरुष ६९ किलो तौल समूहमा एपीएफका विक्रम चौधरीले मधेस प्रदेशका सचिन शाक्यलाई तथा लुम्बिनीका विकास राना मगरले गण्डकीका सुनिल विकलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । पुरुष ७५ किलो तौल समूहमा सेनाका दीपेश लामाले लुम्बिनीका गणेश सुनारलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेका छन् । वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता शनिबारसम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : ५८ बजे