चैत्र ३, २०८१ आइतबार Sun Mar 16 2025

वडाध्यक्ष गुप्ताको दादागिरी : राती स्थानीयको घरमा पुगि ढुङ्गामुडा



हिजो सामाजिक संजालमा छरपस्ट भिडियोको भित्रीकथा

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ का वडाध्यक्ष सुनील गुप्ताको नेतृत्वमा शुक्रबार राति एक स्थानीयको घरमा आक्रमण भएको छ। घरधनी प्रशुराम गिरीले परिवार जोगाउन लाइसेन्सप्राप्त बन्दुकबाट एक राउन्ड हवाई फायर गरेका छन्।

स्थानीय गिरीका अनुसार राति करिब ९:३० बजे परिवार सुतिरहेको बेला एक्कासि घरमाथि ढुंगा र इँटाको टुक्रा बर्सिन थाल्यो। घरभित्र रहेका छोरा, बुहारी, नातिनातिना त्रसित हुँदै बाहिर निस्किएपछि वडाध्यक्ष गुप्ताको नेतृत्वमा आएको समूहले उनीहरूलाई कुटपिट गरेको गिरीको आरोप छ।

‘बाहिर निस्केपछि देख्दा मेरो नातिलाई कुट्दै थिए,’ गिरीले भने, ‘रोक्न खोज्दा उल्टै मेरो छोरालाई पनि हातपात गर्न थाले। त्यसपछि आफैंले घरभित्रको लाइसेन्सप्राप्त बन्दुक निकालेर दुई राउन्ड हवाई फायर गरें।’

गिरीका अनुसार आक्रमणकारीहरू घरमा लुटपाट गर्न खोजेको आभास भएपछि उनले आत्मरक्षाका लागि बन्दुक चलाउनुपरेको हो। ‘सरकारले दिएको बन्दुक नभएको भए राति ठूलो दुर्घटना हुन सक्थ्यो,’ गिरीले भने, ‘भीड तर्सिएर भागेपछि मात्रै हामीले ज्यान जोगाउन सक्यौं।’

वडाध्यक्ष गुप्ताको प्रतिक्रिया : ‘गाली गरेकोले सोध्न गएको थिएँ’

वडाध्यक्ष सुनील गुप्ताले भने आफूले आक्रमण नगरेको दाबी गरेका छन्। उनका अनुसार प्रशुराम गिरीका नातिले जितपुर बजारमा कलवार समुदायका व्यक्तिहरूलाई दिउँसो ‘हात काटिदिन्छु, खुट्टा भाँचिदिन्छु’ भन्दै गाली गरेका थिए।

‘कलवार समुदायले राति मलाई जानकारी दिएपछि सोध्न गिरीको घर गएको थिएँ,’ गुप्ताले भने, ‘तर उल्टै घरभित्रबाट ढुंगा–मुढा प्रहार भयो। गिरीले बिना सोधपुछ बन्दुक निकाली गोली चलाए।’

घटनापछि बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङ शनिबार बिहान गिरीको घर पुगेका थिए। ‘यदि गालीगलौज भएको थियो भने प्रहरीलाई खबर गर्न सकिन्थ्यो, राति भीड लिएर घरमा पुग्नु उचित होइन,’ एसपी तामाङले भने।

प्रहरीका अनुसार शुक्रबार दिउँसो गिरीका नाति र कलवार समुदायका व्यक्तिबीच सामान्य विवाद भएको थियो। त्यसलाई लिएर वडाध्यक्ष गुप्ता समूह लिएर राति गिरीको घर पुगेपछि झडप भएको थियो।

यस घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : ०४ बजे