काठमाडौं ।ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिकस्तर सुधारका लागि भन्दै तनहुँको आँबुखैरेनी गाउँपालिकाले छात्रावास सञ्चालनमा ल्याएको छ । यहाँको वडा नं. ५ र ६ को ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएपछि एकीकृत ढंगले पठनपाठन सञ्चालन गर्ने उद्देश्यले गाउँपालिकाले छात्रावास सञ्चालनमा ल्याएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयमा छात्रावास भवन तयार गरी ५० जना क्षमताको छात्रावास सञ्चालन ल्याइएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत प्राप्त ३६ लाख रुपैयाँ, अपुरो भवन निर्माणका लागि गाउँपालिकाबाट प्राप्त २५ लाख रुपैयाँ र सामाजिक विकास कार्यालयबाट प्राप्त ५ लाख रुपैयाँबाट भवन निर्माण तथा छात्रावासका लागि आवश्यक पूर्वाधार तयार गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले बताए ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले छात्राबास भवनको उद्घाटन गर्दै न्यून विद्यार्थी संख्या भएका विद्यालयका विद्यार्थीलाई समायोजन गरी पठनपाठनमा सहज बनाउने उद्देश्यले छात्राबास संचालनमा ल्याएको बताए ।
तस्बिर : गाउँपालिका सचिवालय