काठमाडौं । चारकोसे झाडी फाँडेर बसेको धरान शहरले प्रत्येक २० पुसमा आफ्नो ‘जन्मदिन’ अर्थात् स्थापना दिवस मनाउँदै आएको छ । शनिबार उमेरले ८७ वर्ष पुगेका काजीमान गुरुङले आफूभन्दा ३७ वर्ष जेठो ‘धरान शहर स्थापना दिवस’ उत्सवको उद्घाटन गरेका छन् । स्थापनाको १२४औँ वर्ष उत्सव शनिबारदेखि मनाइँदै छ । पाँच दिनसम्म मनाइने यो उत्सवलाई ‘धरान डे’ भनेर पनि चिनिन्छ ।
सर्दु र सेउती खोलाको बीचमा रहेको चारकोसे घना जङ्गललाई १९५० सालताका फँडानी गरी बस्ती बस्न सुरु गरेको बताइन्छ । चुरे सकिएर तराईको समथर क्षेत्र सुरु हुने यो क्षेत्रमा काठका झुप्राझुप्री बनाएर मानिसहरू बस्न थालेपछि बस्ती विकास भएको थियो । बिस्तारै धनकुटा ‘मौजा’ मा राणाको प्रशासनिक अड्डा जाने प्रमुख नाका धरान बनेको थियो ।
बस्ती बाक्लिँदै जाँदा तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले १९५६ सालमा चन्द्रपुर बजार (हालको पुरानो बजार) बसाएका थिए । अर्का राणा प्रधानमन्त्री जुद्ध शमशेरले जुद्धनगर भनेर (हालको नयाँ बजार भानु चोक–छाता चोक) बसाएको इतिहास छ ।
आधुनिक समयको धरान उपमहानगरको इतिहास पनि पुरानै रहेको अभिलेख देखिन्छ । सुनसरी जिल्लाभित्र पर्ने धरान खासमा सुनसरी जिल्ला बन्नुअघि नै वैधानिक अस्तित्व बनाएको नगर थियो । ६ मङ्सिर २०१७ को राजपत्रमा प्रकाशित सूचनाअनुसार धरान नगरपालिका बन्दा सुनसरी जिल्लाको इतिहास नै थिएन । २०१७ मङ्सिरमा धरान नगरपालिका घोषणा भएपछि मात्रै १ वैशाख २०१८ मा सुनसरी जिल्लाको घोषणा भएको थियो ।