बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा



काठमाडौं । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् ।

लिगको अन्तिम खेल आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । उनले नेपाली खेलाडीलाई विजयको शुभकामना समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कीर्तिपुर मैदानमा आजको खेल हेर्न ठूलो सङ्ख्यामा नेपाली दर्शक पुगेका छन् । अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् ।

यसैगरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति कीर्तिपुर मैदानमा रहेको थियो ।

यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेपाली खेलाडीलाई जितको शुभकामना दिएका छन् । “हामी आशावादी छौँ, हाम्रो टीम उच्च मनोबलका साथ खेल्नेछ र नेपालको क्रिकेट इतिहासमा सफलताको नयाँ इतिहास रच्नेछ । विजयीको शुभकामना टीम नेपाल”, उनले भनेका छन् ।

साथै, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि शुभकामना दिएका नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, “मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टीमलाई शुभकामना । राष्ट्र तपाईंहरुको साथमा छ । म तपाईंहरुको साथमा छु ।”

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १ : १९ बजे