बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि देउवा सर्वत्र आलोचित



काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वत्र आलोचित भएका छन् । संसद्मा कांग्रेसको प्रतिपक्षी भूमिकालाई कमजोर बनाएको आरोप देउवामाथि छ । उता संसद्मा मात्र होइन, पार्टीभित्रै पनि कांग्रेस कमजोर प्रतिपक्ष बनेको विश्लेषण गरिन थालिएको हो ।

पार्टीमा प्रतिपक्षी नेताको छवि बनाएका शेखर कोइरालालेसमेत विश्वासको मत दिने निर्णयमा देउवालाई सघाएपछि उनी पनि आलोचनाको पात्र बनेका छन् । नेपाली कांग्रेसमा फरक धारको नेतृत्व शेखर कोइरालाले गर्दै आएका छन् । तर, पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बेलामा भने कोइरालाले फरक मत राखेनन् । उनको मौनतापछि संसद्मा प्रतिपक्ष कमजोर देखिएजस्तै कांग्रेसभित्रको प्रतिपक्ष पनि कमजोर देखियो ।

सभापति देउवाले विश्वासको मत दिँदा राजनीतिक रूपमा फाइदा पुग्ने तर्क गरेपछि महामन्त्रीद्वयले त्यसको आधार मागेका थिए । सभापति देउवाले राष्ट्रपति र सभामुखमध्ये एउटा कांग्रेसले पाउने ग्यारेन्टी नभए पनि बाटो खुल्ने महामन्त्रीलाई जवाफ दिएका थिए । देउवाको सोही जवाफका आधारमा अहिले कांग्रेसका केही नेताले नयाँ राजनीतिक समीकरणको सम्भावना औँल्याउन थालेका छन् ।

तर, देउवा र दाहालबीच कुनै सहमति भएको एकिन छैन । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने देउवाको प्रस्तावमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवाद गरेका थिए । पदाधिकारी बैठकमा सभापति र महामन्त्रीलाई सुझाव दिनेहरूको मत बाझिएपछि देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर सरकारलाई विश्वासको मत दिने निर्णय गराए ।

यो निर्णय प्रक्रियामा डाक्टर शेखर कोइरालाको भने कुनै भूमिका देखिएन । उनले सरकारलाई विश्वासको मत दिनु हुँदैन भनेको कतै सुनिएको छैन । एउटै समूहमा रहेका शेखर र गगनबीचमा पनि मतभेद देखिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : १५ बजे