मंसिर १०, २०८१ सोमबार Mon Nov 25 2024

प्रतिनिधि सभाको पहिलो बैठक बस्दै



काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दै छ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ भने सबै दलका प्रतिनिधिले सम्बोधन गर्नेछन् ।

बैठकले औपचारिक रुपमा संसद् सुरु भएको जनाउ दिनेछ । तर, संसद्मा फरक विचार र पृष्ठभूमिका सांसदहरुको उपस्थितिले सदनभित्रको परिस्थिति भने अघिल्लो कार्यकालमा भन्दा भिन्न हुन सक्छ ।

प्रतिनिधिसभामा १२ राजनीतिक दलका २ सय ७० र चार स्वतन्त्र सांसद छन् । तीमध्ये राष्ट्रिय दल सातवटा छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २७५ सांसदमध्ये २२२ अघिल्लो प्रतिनिधिसभामा नरहेका अनुहार छन् । नयाँ सांसदहरुको उपस्थितिले संसद्को वातावरण पहिलेभन्दा फरक देखिने निश्चित छ। पहिलो विषय त उनीहरु संसदीय प्रक्रियामा अभ्यस्त हुने कुराले नै त्यहाँभित्र फरक माहोल निर्माण हुनेछ ।

अर्कोतर्फ युवाहरुको उस्थिति पनि उल्लेख्य छ । पहिलोपटक संसद्‍मा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत, नागरिक उन्मुक्तिलगायत दलले अधिकांश युवालाई सांसद बनाउँदा पुराना दलले समेत दोहोरिनेको संख्या घटाएका छन् । यस्तो अवस्थामा पहिलेभन्दा फरक तरिकाले संसद् अगाडि बढ्ने संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे बताउँछन् ।

गणतन्त्र, धर्मनिरपेक्षता तथा संघीयतालाई बलियो बनाउनुपर्ने मुद्दा बोक्नेको संख्या प्रतिनिधिसभामा ठूलो छ । यही सदनमा संवैधानिक राजतन्त्र माग्ने र संघीयताको विरोध गर्ने दलहरुको समेत उपस्थिति छ । धेरै दल मिलेर सरकार बनाउनुपर्ने अवस्था र फरक–फरक एजेन्डा भएका दलहरु एकै ठाउँमा आउनुपर्ने स्थितिका कारण संसदको प्रभावकारितामाथि भने सुरुवातदेखि नै आंशका जन्मिएको छ । संसदको बनोटकै कारण सरकारले सानातिना विषयमा पनि सम्झौता गर्नुपर्ने स्थिति छ । संसद्को पहिलो बैठक भने अन्तरिम नियमावली पारित र सामान्य सम्बोधनमै सकिनेछ ।

अघिल्लो संसद्मा काम गर्न जति सजिलो जनमत थियो अहिले त्यो देखिँदैन । संख्याकै कारण संसदका सबै काम कारबाही सहमतिका आधारमा अगाडि बढाउनुपर्ने अवस्था छ ।

प्रतिनिधिसभामा १२ दलका नेताको सम्बोधन

प्रतिनिधिसभाको आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिनेछन् । बैठकको प्रारम्भमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सदस्यहरूलाई स्वागत गर्नेछन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदका प्रतिनिधित्व रहेको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद छन् ।

प्रतिनिधिसभा बैठक हाल कायम प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सञ्चालन हुनेछ । बैठकले नियमावली, २०७५ लाई अनुमोदनसमेत गर्नेछ । भोलिको बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि नियमावलीअनुसार सात जनालाई चयन गरिनेछ । सांसद सदस्य सङ्ख्याका आधारमा कांग्र्रेस र एमालेबाट दुई÷दुई र बाँकी अन्य दलबाट प्रतिनिधित्व हुनेछ । सोमबारको बैठकमा ज्येष्ठ सदस्य जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउने छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा ९२० अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा ९४० बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ । यसैगरी पहिलो प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ । सभामुखको निर्वाचन सम्पन्न नभइसकेका कारणले हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्नेछन् । उनले यसअघि यही पुस ७ गते नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ९ : १० बजे