कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

आरन व्यवसाय सञ्चालन गर्दै आएका विश्वकर्मा गाउँपालिकाद्वारा सम्मानित



काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले फलाम मार हान्न स्वचालित घन बनाउने पुड्के विश्वकर्मालाई सम्मान गरेको छ । लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आएका विश्वकर्मालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।

चितवनको कालिका नगरपालिका–४ स्थायी ठेगाना भई हाल आँबुखैरेनी गाउँपालिका–५ बस्ने विश्वकर्मालाई गाउँपालिकाले नगद रु २० हजारसहित सम्मानपत्र प्रदान गरेको हो । परम्परागत आरनलाई आधुनिकीकरण गरी घरेलु सीपलाई उद्यममा विकास गर्न सहयोग पुर्‍याएबापत विश्वकर्मालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । अध्यक्ष चुमानले भने, “लामो समयदेखि आरन व्यवसाय गर्दै आएका उनले आधुनिकीकरणमा पु¥याएको योगदानस्वरुप प्रोत्साहन गर्न नगदसहित सम्मान गरेका हौँ ।”

फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन निर्माण गरेको विश्वकर्माले जानकारी दिए। फलाम गाल्न घन हान्न कम्तीमा दुई जना मानिस चाहिने भएकाले स्वचालित घन बनाएको उनले बताए। युट्युब हेरेर करिब रु ३० हजारको लागतमा स्वचालित घन बनाएको विश्वकर्माको भनाइ छ ।

विश्वकर्माका अनुसार खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिने र घनको चाललाई नियन्त्रण र बन्द खुट्टाबाटै गर्न सकिनेछ । आरन व्यवसाय सञ्चालन गरी विश्वकर्माले आम्दानी गर्दै आएका छन् ।

आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्शा निःशुल्क बनाउने कामको सुरुआत गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९÷८० नीति तथा कार्यक्रम अनुसार घर तथा भवनको प्रस्तावित नक्शा निःशुल्क गर्ने घोषणा गरेबमोजिम निःशुल्क नक्शा वितरण गर्न थालेको हो ।

आँबुखैरेनी गाउँपालिका–३ निवासी मनमाया थापा र अनिता थापाले पहिलो पटक उक्त सेवा लिएका छन् । उहाँहरुले घर निर्माणका लागि नक्शा बनाउन गाउँपालिकामा निवेदन दिएकामा गाउँपालिकाले नक्शा निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्यालले उक्त नक्शा सेवाग्राहीलाई हस्तान्तरण गरेका थिए ।
नक्शा पास तथा भवनको मापदण्डमा रही नयाँ बन्ने घर तथा भवनको नक्शा गाउँपालिकाले नै निःशुल्क रुपमा बनाइदिने गाउँपालिकाका अध्यक्ष चुमानले बताए । चुमानका अनुसार तीन तल्लासम्मको लागि गाउँपालिकाले नै नक्शा बनाइदिनेछ ।

भवन ऐन २०५५ को दफा ८ ९ग० अनुसारको ९ग वर्गका भवन० भूइँ तलाको क्षेत्रफल १००० वर्गफिटसम्म र उचाई तीन तलासम्म वा स्ट्रक्चलरल स्पान ४।५ मिटरभन्दा कम भएका भवनको हकमा लागू हुने गाउँपालिकाले जनाएको छ । नक्शा पास नगरी बनाइएका घर तथा भवनमा यो सेवा सुविधा लागू नहुने जनाइएको छ ।

“घर बनाउन नक्शाका लागि सर्वसाधारणले अब बाहिर कन्सल्टेन्सी धाउनुपर्दैन, गाउँपालिकामा आएर सम्पर्क गरेपछि गाउँपालिकाले आवश्यक सबै काम गरिदिन्छ,” चुमानले भने, “कन्स्लटेन्सीमार्फत् नक्शा बनाउँदा कम्तीमा २५÷३० हजार लाग्छ । निःशुल्क हुने भएपछि सर्वसाधारणको उक्त पैसा जोगिन्छ ।” गाउँपालिकाले ल्याएको यो सुविधाले स्थानीयवासी खुसी भएका छन् । नक्शा बनाउन कन्सल्टेन्सी धाउनुपर्ने बाध्यताबाट सर्वसाधारणले मुक्ति पाउने भएका छन् ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १० : २३ बजे