बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

एमाले केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज (शनिबार) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने भएको छ । आजको बैठक बिहान साढे १० बजे बोलाइएको छ । राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौं समूह बनाइएको छ ।

प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिने र केन्द्रीय कमिटी सकिने एमालेले जनाएको छ । एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा शुरु भएको हो ।

बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गर्नुभएको छ । प्रतिवेदनमा पालिका चुनावको परिणाम बिर्सेर आउँदो चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिइएको छ ।

प्रतिवेदनमा वर्तमान सरकार र सत्ता गठबन्धनका कारण राष्ट्रियता, लोकतन्त्र र जनजीविकामा गम्भीर सङ्कट निम्त्याएको उल्लेख छ । यस्तै पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मतको अभाव रहेको भन्दै त्यसको पूर्ति गर्न आवश्यक कदम चाल्ने पनि अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

ओलीको प्रतिवेदनमा चुनावको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने, प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने, चुनावको तयारी, परिचालन र मत रक्षामा कहाँ(कहाँ कमी रह्यो भन्ने चुनावी समीक्षाबाट निकालिएका निष्कर्षहरूको सूची बनाएर विगतको कमीलाई नदोहोर्याउने सुनिश्चित गर्ने उल्लेख छ।

यसैगरी पालिका चुनावको परिणामलाई आधार बनाएर प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको अलग(अलग विश्लेषणसहित शक्ति सन्तुलनको अद्यावधिक समीक्षा गर्ने तथा पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्ने पनि एमालेले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ९ : २३ बजे