असार ९, २०८१ शनिबार Sat Jun 22 2024

युवा उद्यमी मञ्चको अध्यक्षमा प्राची अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२ र २०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो ।

अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष बनेकी हुन् । नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आबद्ध छिन् । उनले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट, फाइनान्स, मार्केटिङ र संयुक्त अरब इमिरेट्सबाट इन्टेरियर डिजाइनिङमा स्नातकोत्तर गरेकी छिन् ।

यस वर्ष स्टार्टअपहरूका लागि इन्क्युवेसन सेन्टर सुरु गरेर युवाहरूमा उद्यमशिलताको भावना जगाउन मञ्च केन्द्रित हुने नवनिर्वाचित अध्यक्ष प्राची अग्रवालले बताइन् । “सबैका लागि अनुकूल नीतिहरूको वकालत गरी नेपालको अर्थतन्त्रको विकास र निर्माणमा हामी लाग्नेछौं” उनले भनिन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २०१७ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चको पहिलो अध्यक्ष विष्णु कुमार अग्रवाल थिए । अग्रवाल हाल नेपाल उद्योग परिसंघको अध्यक्ष छन् । युवा उद्यमी मञ्चले हालै सिएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको सफल कार्यक्रम संचालन गरेको थियो । उक्त फेस्टमा ७ वटा स्टार्टअपले २४ करोड ५० लाख रुपैयाँ लगानीको प्रारम्भिक सम्झौता गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : ३१ बजे