बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

काठमाडौं उपत्यकाको फोहर पहिलाकोजस्तै व्यवस्थापनमा ल्याउन अझैं १० दिन लाग्ने



काठमाडौं । दुई महिनादेखि काठमडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहोर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहोर दुई महिनादेखि अस्तव्यस्त भइरहेको छ ।

शहरका चोक, गल्ली, टोलमा लामो समयदेखि फोहोर थुप्रिएर दुर्गन्धित भएको छ । पहिलाकोजस्तै फोहोर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहोर व्यवस्थापन हुने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए ।

उनका अनुसार अहिले पनि काठमाडौं उपत्यकाका १८ स्थानीय तहमा ८ हजार टिपर फोहोर व्यवस्थापन गर्नुपर्ने छ । बिनाअवरोध नियमित फोहोर व्यवस्थापन गर्न सके सबै फोहोर व्यवस्थापनमा सो समय लाग्नेछ । फोहोर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमतिपछि बिहीबारबाट साविकबमोजिम फोहोर व्यवस्थापन कार्य हुन थालेको हो ।

पछिल्लो सम्झौताअनुसार फोहोरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन । तर, काठमाडौं महानगरसँग अहिले लिच्चड ट्याङ्क भएको ७५ टिपर छन् । ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने १५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको सचिवालय सदस्य लम्सालले बताए ।

सहमतिपछि बिहीबारबाट नै दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहोर व्यवस्थापनको काम पनि सुरु भएको छ । उक्त स्थानमा पनि अझै ५ सय टिपर फोहोर रहेको बताइएको छ । लामो समयदेखि उपत्यकाका १८ स्थानीय तहको फोहोर अन्तिम व्यवस्थापनस्थलसम्म लान नपाएपछि काठमाडौं महानगरले टेकुमा थुपारी प्लास्टिकले छोपेर राखेको थियो । हाल सञ्चालनमा रहेको फोहोर बोक्ने टिपरको सङ्ख्यामा वृद्धि गरी केही दिनमा नै दैनिक ३ सय गाडीले फोहोर विसर्जनको तयारी रहेको छ ।

अहिले उपत्यकाको विभिन्न स्थानमा अस्तव्यस्त रूपमा रहेको फोहोरको विसर्जन हुनेबित्तिकै त्यसपछि बञ्चरेडाँडामा लगिने सबै फोहोर पूर्ण रूपमा वर्गीकरण भएर मात्रै लाने जनाइएको छ । घरबाट फोहोर उठाउँदा स्रोतमै वर्गीकरण गर्ने विषयलाई महत्त्वका साथ हेर्ने र तोकिएको बारअनुसार फोहोरको वर्गीकरण नभए यसअघि भनेझैँ कारबाही प्रक्रिया अघि बढाइने महानगरले चेतावनी दिएको छ ।

लामो समयसम्म रोकिएको फोहोर व्यवथापनको लागि नेपाल टिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर निर्माण सेवालगायत संस्थाले काठमाडौंको फोहोर अन्तिम व्यवस्थापनस्थलसम्म लानका लागि निःशुल्क सेवा प्रदान गरेका छन् ।

बिहीबार उक्त समितिका १८ सय टिपर फोहोर बोकेर ल्यान्डफिल साइट पुगेका थिए । समानान्तर निर्माण सेवाले पनि पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको समितिका सचिवालय सदस्य रत्नमणि पाठकले जानकारी दिए । फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने शृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै बालेनले फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा सबैले जोड दिन आवश्यक रहेको बताएका छन् ।

उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा सिसडोल, बञ्चरेडाँडाका स्थानीयबीच पटक(पटक सहमति भएको छ । पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समय(समयमा अवरोध गर्दै गर्दा काठमाडौंमा फोहोरको डङ्गुर थुप्रने गरेको छ । स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता दीर्घकालीन नभएको भन्दै महानगरले अन्य स्थानमा फोहोर व्यवस्थापन स्थान पहिचानको काम भने जारी राखेको छ ।

काठमाडौंमा हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति सचेत छौं ः मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने उल्लेख गरेका छन् ।

‘काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ । यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ ‘ उनले भनेका छन् ।

यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहने र सर्वसाधारणको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि आफूहरु आभारी रहेको शाहको भनाइ छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : १५ बजे