बैशाख २२, २०८१ शनिबार Sat May 4 2024

रुसद्वारा किभमा फेरि आक्रमण



रुसी फौजले फेरि युक्रेनी राजधानी किभ र पश्चिमी सहर लभिभलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ । केही दिनअघि रुसले आफ्नो आक्रमणको उद्देश्य पूरा भएको दाबी गर्दै बन्दरगाह सहर मरिउपोलमाथि आक्रमण केन्द्रित पारको थियो । रुसले गत बिहीबार मरिउपोल सहरमाथि नियन्त्रण कायम गरेको जनाएको थियो ।

सहरमा एक हजारभन्दा बढी युक्रेनी सेनाले आत्मसमर्पण गरेका जनाइएको थियो । त्यसयता रुसी फौजले पुनः किभमाथि आक्रमण बढाएको हो । किभका मेयर भिताली किलित्स्कोले रुसी आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि गरेका बीबीसीले उल्लेख गरेका छन् । रुसी रक्षा मन्त्रालयले भने किभस्थित सैन्य सामग्री कारखानालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

रुसले किभ छाडेयता कम्तीमा ९ सय सर्वसाधारणको शव भेटिएको युक्रेनी अधिकारीहरूको दाबी छ । तर रुसी अधिकारीले युक्रेनको आरोप अस्वीकार गरेका छन् । त्यसमध्ये ३ सय ५० जना बुचा नगरमा मात्रै फेला परेका युक्रेनी प्रहरीले जनाएको छ । उनीहरूलाई रुसी सैनिकले गोली प्रहार गरी हत्या गरेका क्षेत्रीय प्रहरी प्रमुख एन्ड्री नेभिटोभल बताएका छन् । तीमध्ये कतिपयलाई सामूहिक रूपमा गाडिएको र अन्यको शव विभिन्न स्थानमा फेला परेको हो । फरेन्सिक अनुसन्धानकर्ताहरूले मृतकको पहिचान खुलाउन र सम्भावित युद्धअपराधको प्रमाण जुटाउने काम गरिहेका युक्रनी अधिकारीको भनाइ छ ।\

यसैबीच, रुसले अमेरिका र अन्य साझेदार देशलाई युक्रेनका लागि हतियार उपलब्ध नगराउन औपचारिक चेतावनी दिएको छ । रुसले कूटनीतिक नोटमार्फत उक्त चेतावनी दिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । वासिङ्टन डिसीस्थित दूतावासले अमेरिकी विदेश मन्त्रालयलाई रुसको दुई पृष्ठको कूटनीतिक नोट उपलब्ध गराएको जनाइएको छ । त्यसमा हतियार सहयोग गरेर अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) ले युक्रेनको द्वन्द्व थप चर्काइरहेको र त्यसले ‘अनपेक्षित परिणाम’ निम्त्याउने बताइएको छ ।

अमेरिकाले युक्रेनलाई थप सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरिरहेका बेला रुसले कूटनीतिक नोट पठाएको हो । त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनका लागि ८ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगको घोषणा गरेका थिए । सहयोगअन्तर्गत अत्याधुनिक हातहतियार, ड्रोन, बख्तरबन्द गाडी तथा हेलिकोप्टर रहेका जनाइएको छ । अमेरिका र नाटोले युक्रेनमा उपलब्ध गराएको सैन्य सहयोग प्रभावकारी बनेकाले रुसले चेतवानी दिएको कपितयको अनुमान छ ।

अमेरिकाले पछिल्लो समय घोषणा गरेको सैन्य सहयोगको पहिलो किस्ता केही दिनपछि युक्रेन पुग्ने जनाइएको छ । युद्ध सुरु भएयता अमेरिकाले युक्रेनलाई ३ अर्ब डलर बराबरको सैन्य सहयोग उपलब्ध गराएको छ । युरोपेली संघमा आबद्ध देशहरूले पनि युक्रेनलाई शक्तिशाली हतियारहरू उपलब्ध गराउँदै आएका छन् । यसैबीच, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अहिलेसम्म २ हजार ५ सय देखि ३ हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको बताएका छन् । सीएनएनसँगको कुराकानीमा उनले १० हजारभन्दा बढी युक्रेनी सैनिक घाइते भएका जनाए । घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जेलेन्स्कीको भनाइ छ ।

मृतक तथा घाइतेहरूलाई देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको बताए । नाटोमा आबद्ध हुने तयारी गरेपछि रुसले डेढ महिनाअघि युक्रेनमा आक्रमण सुरु गरेको हो ।

जोन्सनलाई रुस प्रवेशमा प्रतिबन्ध
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित १३ जना राजनीतिज्ञलाई रुसले आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । बेलायत सरकारले रुसविरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनुपरेको रुसी अधिकारीहरूले जनाएका छन् ।

रुसले प्रतिबन्धको पहिलो सूचीमा प्रधानमन्त्री जोन्सन र विदेशमन्त्री लिज ट्रस रहेको जनाउँदै प्रतिबन्धको सूचीमा अन्य वरिष्ठ अधिकारीहरूको पनि नाम थप्ने चेतावनी दिएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ । त्यसैगरी रुसविरुद्ध लड्का लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ । युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कूटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन् ।

धेरै देशहरूले क्रमशः रुसी अधिकारीहरूलाई देशनिकाला गरिरहेका बेला रुसले बेलायतका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । रुसले बेलायतका विदेशमन्त्री, रक्षा मन्त्रीसहित उच्च अधिकारीहरूलाई रुस प्रवेशमा रोक लगाइएको जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : ०६ बजे