बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

चिनियाँ अन्तरिक्षयात्री ६ महिनापछि पृथ्वीमा



चीनका तीन अन्तरिक्षयात्री ६ महिनापछि पृथ्वीमा अवतरण गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले सीसीटीभीले रेकर्ड गरेका दृश्यहरू सार्वजनिक गर्दै ती अन्तरिक्षयात्री शनिबार अवतरण गरेको जनाएको हो । चीनको हालसम्मको लामो अन्तरिक्ष मिसनका क्रममा ३ जना यात्रु १८३ दिनसम्म अन्तरिक्षमा रहेका थिए । 

उनीहरूको अवतरणसँगै चीनको अन्तरिक्ष महत्त्वाकांक्षामा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अर्बौं बजेट छुट्याएको छ । अन्तरिक्ष क्षेत्रको अन्वेषण र यात्राका क्षेत्रमा दशकौं लामो अनुभव हासिल गरेका अमेरिका र रुसलाई भेट्न पछिल्लो समय चीन निकै प्रयत्नशील छ । सन् १९५७ मा सोभियत संघले स्पुतनिक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष तथा राष्ट्रपति माओत्से तुङले ‘चिनियाँहरूले पनि भू–उपग्रह बनाउने’ घोषणा गरेका थिए । तर चीनले सन् १९७० मा मात्र लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो ।

सन् २००३ मा याङ लिवेई पहिलो ताइकोनट (चिनियाँ अन्तरिक्षयात्री) बन्न सफल भएका थिए । याङले शेन्झाउ–५ मा २१ घण्टे उडान गर्दै १४ पटक पृथ्वीको परिक्रमा गरेका थिए । त्यसयता चीनले विभिन्न मिसनहरू सञ्चालन गरिरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरिक्ष अभियान ‘विशेष सपना’ भएको बताउँदै आएका छन् ।

अन्तरिक्ष स्टेसनबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ । तर सन् २०१७ मा शक्तिशाली हेभी–लिफ्ट रकेट ‘लङ मार्च–५ वाई–२’ सञ्चार उपग्रहहरू अक्षमा पठाउने मिसनमा असफल हुँदा चन्द्रमाको काम निकै कम भएको थियो । त्यसले गर्दा चाङ ए–५ प्रक्षेपणलाई चीनले केही समय स्थगित गरेको थियो ।

सन् २०२१ फेब्रुअरीमा मंगल ग्रहका तस्बिरहरू संकलन गरेको चीनलाई मे महिनामा रातो ग्रह (रेड प्लानेट) को सतह पत्ता लगाउने कार्यमा सफलता मिलेको थियो । सन् २०२१ अक्टोबरमा ३ जना अन्तरिक्षयात्रीहरू सफलतापूर्वक अन्तरिक्षमा पुग्न सफल भएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : ४८ बजे