काठमाडौं । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित चन्द्रपुर स्केट पार्क स्केटिङ हाउसमा नगरपालिकाले तालाबन्दी गरेको छ।
उपमेयर जयमाला चौधरी, र चन्द्रपुर नगरपालिका वडा ४ र नगरस्तरीय बाल सञ्जालका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले आज बिहान स्केटिङ पार्कमा तालाबन्दी गरेको हो।
स्केटिङ पार्कमा ससाना बालबालिकालाई श्रम गराइएको र दर्ता नभई चर्को शुल्क लिएर सञ्चालन गरेको कारण तालाबन्दी गरिएको उपमेयर चौधरीले बताएकी छिन्।
सुरक्षाको दृष्टिकोणले उच्च जोखिम रहेकाले पार्कले ठुलो दुर्घटना निम्त्याउने खतरा रहेको उपप्रमुख जयमाला चौधरीले बताइन्। चन्द्रपुर ४ स्थित बञ्जारा कम्प्लेक्समा रहेको स्केटिङ हाउसका संचालकद्वय प्रेम चौधरी र अनिकित राई दास लाई नगरपालिकाको कार्यालयमा उपस्थित हुन समेत जानकारी गराइएको बताइएको छ।
उक्त स्केटिङ् हाउसमा बालश्रम गराइरहेको गुनासोको आधारमा आइतबार अनुगमन गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ।रासस