काठमाडौं । पुर्वी जिल्ला ओखलढुंगाको मोलुङ गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गरेका थिए ।
मोलुङ गाउँपालिका ओखलढुंगाको आयोजना, विपन्नका लागि स्वास्थ्य नेपाल काठमाण्डौको सहकार्य र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाण्डौ साथै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार २ दिन संचालन भै सम्पन्न भएको हो ।
शिविरमा सेवाग्राही नागरिकको बाक्लो सहभागिता रहेको गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । समृद्ध सँगै स्वस्थ पालिका निर्माणका लागी पालिकाबासीलाई निरोगी बनाउने उद्देश्यले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरिएको अध्यक्ष राईको भनाई छ । शिविर मार्फत सेवा लिन पालिकाबासीलाई अध्यक्ष राईले आग्रह गरेका छन् ।
शिविरमा २२५० जनाले स्वास्थ्य सेवा लिएको विपन्नका लागि स्वास्थ्य नेपालका केन्द्रिय अध्यक्ष रत्न बहादुर थापाले बताए ।