आश्विन ५, २०८१ शनिबार Sat Sep 21 2024

ढोरपाटनका मेयर देवकुमारको सहकारी समितिलाई अनुरोध : मेरो ३ अर्ब सम्पत्ति बेचि बचतकर्ताको तिरिदिनु



सहकारीको नालिबेलि

काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्था संस्थापक अध्यक्ष देवकुमार नेपालीले आफ्नो जायजेथा बेचेर सहकारी बचतकर्ताको रकम तिर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर नेपालीले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति ३ अर्बको रहेको भन्दै उक्त सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ताको व्यवस्था मिलाइदिन माग गरेका छन् ।

उनले इमेज बचत तथा ऋण सहकारी संस्थाको समस्या समाधान गर्न संसदीय छानबिन समितिलाई पत्र पठाएका हुन् ।

उनले हुलाकमार्फत समितिलाई पठाएको पत्रमा आफू आबद्ध भएको सहकारी बचतकर्ताको १ अर्ब ८० करोड रुपैयाँ हाराहारी फिर्ता गर्न बाँकी रहेको र बैंकमा धितो राखि लिएको रकम ३१ करोड रुपैयाँ रहेको उनले उल्लेख गरेका छन् ।

‘काठमाडौं महानगरपालिका सुकेधारा, पोखरा महानगरपालिका सृजनाचोक, पृथ्वीचोक, बागलुङ नगरपालिका महेन्द्र सालिक चोक, ढोरपाटन नगरपालिका बुर्तिबाङ दरबारचोक, तल्लो बजार, पुलचोकमा म र मेरी श्रीमती छेला नेपालीको नाममा रहेको घरजग्गाको मूल्याङ्कन गर्दा ३ अर्ब रुपैयाँ बढीको मूल्याङ्कन हुन आउँछ ।

कुन-कुन कित्ता बैंकमा घितोका रुपमा राखिएको छ भन्ने विवरण निवेदनमै संलग्न छ । बैंकमा धितोका रुपमा राखिएका कित्ताहरु पनि बैंकबाट लिएको ऋणभन्दा दशौं गुणा बढी मूल्यका छन् । जसका लागि स्वतन्त्र मूल्याङ्कन गर्नसमेत यसै निवेदनमार्फत समितिसमक्ष आह्वान गर्न चाहन्छु । अतः संघर्ष समितिको भर पर्दा एकातिर मेरो घरजग्गा सम्पत्ति हडप्न दलालहरु लगाउने, अर्कोतिर सर्वसाधारण बचतकर्तालाई गुमराहमा राखेर पीडित बनाउने काम भइरहेको छ’ नेपालीले पत्रमा उल्लेख गरेका छन् ।

उनले सहकारी संघर्ष समितिसँग पटक पटक ६ महिनाभित्र बचतकर्ताको बचत रकम फिर्ता गर्छु भनेर सार्वजनिक प्रतिवद्धता जनाए पनि बचतकर्तालाई गुमराहमा राख्दै संघर्ष समितिले बदमासी गरेको उनको आरोप छ ।

घर भाडा, होटलको आम्दाबीबाट आउने रकम बुझ्ने सम्पूर्ण जिम्मेवारी समितिका सदस्यलाई दिएको उनले पत्रमा उल्लेख गरेका छन् ।

१३ महिनाको यो बिचमा घरहरुको भाडा ८५ लाख ४ महिनादेखि ढोरपाटन बुर्तिबाङ दरबार होटलको सञ्चालनबाट आउने मासिक आम्दानी ४५ लाख गरि जम्मा १ करोड ३० लाख रुपैयाँ संघर्ष समितिका पदाधिकारीले चलाएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ९ : ४३ बजे