आश्विन २, २०८१ बुधबार Wed Sep 18 2024

गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा दुर्घटनामा परि सदासदाको लागि अस्ताइन



काठमाडौं । बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जिप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासँगै उनकी आमाको पनि निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वार्ड नम्बर २ का अध्यक्ष जस बहादुर श्रीपालिको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा१झ २०० नं को सरकारी जिप आज बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको उनले बताए ।

घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ । रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जिपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए

उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडां गएको जानकारी पाएको उनले बताए । दुर्घटनास्थलमा परिचयपत्र फेला परेपछि मात्र दुर्घटनामा उपाध्यक्ष बुढा परेको खुलेको थियो । बिहानै जिप दुर्घटनामा परे पनि स्थानीयले घाँस काट्न जाने बेला देखेपछि उनीहरूले स्थानीय प्रहरीलाई खबर गरेका थिए । जिपमा कति जना सवार थिए भन्ने यकिन नभएको सहायक प्रजिअ खड्काले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ४ : २५ बजे