मंसिर ६, २०८१ बिहिबार Thu Nov 21 2024

जिउँदो मान्छेलाई मृत्यु भएको भनि किर्ते कागज बनाउने वार्ड अध्यक्ष प्रकाउ



काठमाडौं । सरकारी कागजात किर्ते गरेको अभियोगमा सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनले किर्ते गरेको कसुरमा सुनसरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेसँगै यादवलाई बुधबार सुनसरी प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँका सिताराम यादवले आफ्नै छोरा राम यादवको २०६५ साल जेठ १५ गते मृत्यु भएको भनी तत्कालीन गाविसको कार्यालयमा गएर झुट्टो विवरण पेस गरेका थिए । त्यसबेला उक्त कार्यालयका कर्मचारीले मृत्यु दर्ता प्रमाण पत्र बनाएर जिल्ला अदालत सुनसरीमा निवेदन साथ लगत कट्टाको लागि मृत्यु दर्ता प्रमाण पत्रसमेत पेस गरेका थिए । देवानगञ्ज ७ नं. वडा कार्यालय, सुनसरीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन सम्बन्धी कसूरमा सर्जमिन हुँदा वडाध्यक्ष सूर्यनारायण यादव समेतका व्यक्तिहरूले सितारामको छोरा राम यादवको मृत्यु भई सकेको सर्जमिन गरेका थिए ।

सितारामका तीन जना छोराहरु छन् । जेठो छोरा राम यादव, माईलो महानन्द यादव र कान्छो बेदानन्द यादव हुन् । राम यादवको वास्तविक नामथर रामानन्द यादव नै रहेको प्रमाणित भएपछि सरकारी काजगात किर्ते गरेको थाहा भएको थियो ।

वडाध्यक्ष यादव जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १२ : ५९ बजे