कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

धनगढी नगरले नदि कटान रोक्न ६ हजार बाँसका विरुवा रोप्ने अभियान सुरु गर्यो



काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले नदी कटान रोक्न बाँस रोप्ने अभियानको शुरु गरेको छ । यो वर्ष ६ हजार बाँसका बिरुवा रोप्ने गरी अभियान मङ्गलवारबाट शुरु गरिएको हो ।

उपमहानगरभित्रका चार वडाको नदी तटीय क्षेत्रमा बाँसको बिरुवा रोपिन लागिएको हो । नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गर्न बाँस रोप्न लागिएको छ । मोहना र खुटिया नदीको तटिय क्षेत्रमा बाँस रोपेर जैविक तटबन्धन निर्माण गर्ने र स्थानीयको आयआर्जनमा टेवा पुगाउने लक्ष्य राखिएको छ ।

बाँस हुर्किएपछि स्थानीयले बाँस प्रयोग गरेर विभिन्न सामग्री बनाउन पाउने र बिक्री गरेर आर्थिक लाभ समेत लिन पाउने उपमहानगरले जनाएको छ । उपमहानगरले चालु आर्थिक वर्षमा नदीको किनार ३० किलोमिटर क्षेत्रमा ६ हजार बाँस, ६ हजार ६ सय अम्रिसो र ६ हजार ६ सय नेपियरका बिरुवा रोपेर जैविक तटबन्धन गरिने जनाएको छ ।

मङ्गलवार धनगढीका चार वडाको नदी तटिय क्षेत्रमा ६ हजार बाँसका बिरुवा रोप्ने अभियानको थालनी गरिएको छ । उपमहानगरको वडा नम्बर ७, १२, १५ र १७ भएर बग्ने खुटिया र मोहना नदी किनारमा जैविक तटबन्ध निर्माण गरी कटान रोक्न ३० किलोमिटर क्षेत्रमा बाँसको बिरुवा रोप्ने नगर प्रमुख गोपाल हमालले बताए ।

उनले नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गर्न बाँसको बिरुवा रोप्न थालिएको बताए । ‘कटानको समस्या रोक्न र जैविक तटबन्धन निर्माण गर्न ६ हजार बाँसको बिरुवा रोप्ने अभियान थालिएको हो’, उनले भने, ‘खुटिया र मोहना नदी किनारको ३० किलोमीटर लामो तटिय क्षेत्रमा चाँप प्रजातिको बास रोप्न थालिएको हो।’
उपमहानगरले नदी किनारमा रोपेको चाँप प्रजातिको बाँसबाट विभिन्न किसिमका सामग्री बनाउन मिल्ने र स्थानीय बाँस प्रयोग गर्न मिल्ने नगर प्रमुख हमालले बताए । उनले बाँस रोप्ने काम उपमहानगरले गरे पनि प्रयोग र उपभोग भने स्थानीयले गर्न पाउने बताए ।

‘बाँस रोपेर नदी कटान रोक्नुका साथै स्थानीयले आयआर्जन गरुन् भन्ने मनसाय उपमहानगरको छ’, उनले भने, ‘बाँसको बजारमा माग भएको र स्थानीयले विभिन्न सामग्री बनाए बिक्री गर्ने र आर्थिक लाभ लिन सक्नेछन् भन्ने उदेश्य राखिएको छ । उपमहानगरले स्थानीयलाई बाँसका सामग्री बनाउने तालिमसमेत दिनेछ ।’

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ११ : १९ बजे