काठमाडौँ महानगरपालिकाले सुरु गर्यो सहकारीको अनुगमन र कारवाही : ७ वटालाई थप कारवाही गर्न सिआइवीमा पत्राचार
२०८० चैत १६ गतेदेखि २०८१ असार ७ गतेसम्म अनुगमन गरिएको
काठमाडौँ । ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारवाहीको प्रक्रियाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पठाएको छ । अनुसन्धानका लागि लेखि पठाएका सहकारीहरुमा ६ वटा वचत तथा ऋण सहकारी र एउटा वहुउद्देश्यीय सहकारी छन् । यसमा बचत तथा ऋणतर्फ सुमेरु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डिभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार वचत तथा ऋण सहकारी संस्था लिमिटेड, महावौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् । यस्तै वहुउद्देश्यीय सहकारीमा आधारभूत वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छ ।
वचत संकलन, संकलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले अनुसन्धानका लागि अनुसन्धान व्युरोमा पठाइएको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार सञ्चालनमा भएका सहकारीहरुमा ‘स्वनियमको पालना’, ‘लोकतान्त्रिक नियन्त्रण प्रणाली’ ‘एकाधिकार’, ‘लगानीका क्षेत्र’, ‘सिद्धान्तको अनुसरण’जस्ता पक्षमा कमजोरी देखिएको छ ।
उद्देश्य विपरीत लगानी, क्षेत्राधिकार वाहिरको वचत स्वीकार तथा लगानी, सदस्यभन्दा बाहिरको लगानी, एकाघर व्यक्ति वा एक व्यक्ति नियम विपरीत सञ्चालक भएको, लगानी लिएको र दिएको विषय साझा अवस्था हुन् । सहकारी अनुगमनबाट देखिएको चित्रका बारेमा काफ्लेले स्पष्ट पार्नुभयो । २०८० चैत १६ गतेदेखि २०८१ असार ७ गतेसम्म गरिएको अनुगमन र त्यसका आधारमा तयार पारिएको प्रतिवेदनले यो अवस्था देखाएको हो ।
अनुगमन गरिएकामध्ये एउटाको कार्य क्षेत्र प्रदेश देखिएकोले सक्कल फाइल प्रदेश सरकारलाई पठाइएको छ । सहकारी नियमन महाशाखा प्रमुख एवं अनुगमन समितिका सदस्य सचिव सुशिल सुवेदी भन्नुहुन्छ, ‘अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा ३२ वटा सहकारी संस्थाहरुलाई स्पष्टिकरण सोधिएको थियो । सबैले सफाइ पेश गरेका छन् । यसरी पेश गरिएका पत्रहरुको अध्ययन गरेर कारवाहीका विषयमा निर्णय लिन्छौँ ।’ उहाँका अनुसार काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ बमोजिम कसुरको गम्भीर्यता हेरी अधिकतम ५ लाख रुपैयाँसम्म जरिवाना र अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
तत्कालीन डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले २०७४ साउन १ गते निर्णय गर्यो । त्यसअनुसार २०७५ साउन १ गतेदेखि डिभिजन सहकारीले गर्दै आएका काम महानगरमा हन्तारन्तरण भएर आयो । हस्तान्तरण हुनु अघि नै अर्थात् २०७४ सालमा नै काठमाडौं महानगरपालिकाले सहकारी ऐन जारी गरिसकेको थियो ।
हस्तान्तरण भएर आएका र नयाँ दर्ता भएका गरी महानगरपालिकाभित्र १ हजार ९२२ वटा सहकारी संस्था महानगरपालिकाको नियमन क्षेत्राधिकारभित्र छन् ।