असार १८, २०८१ मंगलबार Tue Jul 2 2024

भारत सरकारको सहयोगमा लोमान्थाङ गाउँपालिकामा छात्रावास भवनको शिलान्यास



सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ ।

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको आज शिलान्यास गरिएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले आज संयुक्त रुपमा सो भवनको शिलान्यास गर्नुभएको हो ।

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा उक्त छात्रावास भवन निर्माण गर्न लागिएको दूतावासले जनाएको छ । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिको उपस्थिति थियो । भारत सरकारको अनुदान सहयोग यस गुम्बा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुईतले छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । हालसम्म चार सय ९० परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये मुस्ताङका १७ परियोजनासहित गण्डकी प्रदेशमा विभिन्न क्षेत्रमा ५९ परियोजना रहेका छन् ।

रासस

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ५ : ५७ बजे