भाद्र २२, २०८१ शनिबार Sun Sep 8 2024

भोजपुरे पासाङले कमाउन्छ्न नेपाली कागजबाट महिनाकै एक लाख



काठमाडौं । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिन्छन्।

पुर्ख्यौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने काम गर्दै आएका हुन् । उनका बुबाले कागज बनाउने काम गर्थे ।  कागज उद्योगमा हुर्किएका उनले पनि बुबाआमालाई सघाउँदा सघाउँदै कागज बनाउने सीप सिके ।

शेर्पाको पुर्ख्यौली घर भोजपुर जिल्ला हो । उनले २०४९ सालमा तेह्रथुम जिल्लाको वसन्तपुर क्षेत्रमा कागज उद्योग सञ्चालन गरे । त्यसपछि ताप्लेजुङको याम्फुदिन, खेवाङ क्षेत्रमा कागज उद्योग सञ्चालन गरे ।

२०६१ सालमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै छिरिङ हाते कागज उद्योग दर्ता गरेर अहिले सञ्चालन गर्दै आएका हुन् ।  अहिले उनको कागज उद्योगमा १० जनाले रोजगारी पाएका छन् ।

कागज उद्योगबाट खर्च कटाएर वार्षिक रु १२ लाख आम्दानी हुने गरेको शेर्पाले बताए । उद्योगकै आम्दानीले छोराछोरीको पढाइमा खर्च गरी बचतबाट  सदरमुकाममा जग्गा खरिद गरेका छन् ।रासस

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  २ : १८ बजे