भाद्र २२, २०८१ शनिबार Sun Sep 8 2024

सडक संजाल विस्तारमा केन्द्रित बिर्तामोड नगरपालिका



काठमाडौं । पुर्वी नेपालको उत्कृष्ट पालिका बिर्तामोड नगरपालिकाले नगरको विकास–निर्माणमा आफूलाई केन्द्रित गरेको छ । चालु आर्थिवर्षमा १० दशमलव ८४ किलोमिटर सडक कालोपत्र, ३४ दशमलव ८८ किलोमिटर सडक ग्राभेल र ४ दशमलव ४४ किलोमिटर सडक स्तरोन्नति गरेको छ ।

उज्यालो नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ बिर्तामोड नगरपालिकाले सडकको स्तरोन्नतिसँगै नगरका विभिन्न ३७ स्थानमा कल्भर्ट, २९ वटा विपन्न आवास, एउटा प्रशासनिक भवन, एउटा अस्पताल, २१ स्थानमा सडक बत्ती, विद्युत् पोल विस्तार, सडकमा पानी बग्न नदिन नाला निर्माण गरेको छ ।

बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईका अनुसार १०४ दशमलव ३० किलोमिटर क्षेत्रमा तटबन्धन गरिएको छ भने एउटा झोलुङ्गे पुल, ५६ वटा भवन मर्मत, सात वटा सामुदायिक विद्यालय भवन निर्माणका साथै खानेपानीका लागि तीन सय ८० मिटरमा पाइपलाइन विस्तार गरिएको छ ।

आगामी पाँच वर्षभित्र प्रदेश र सङ्घीय सरकारसँग समन्यव गर्दै बिर्तामोडमा रिङ रोड निर्माण, डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासनिक भवन, डोमलाल राजवंशी रङ्गशालाको स्तरोन्नति, देवी हाटमा बहुतले पार्किङसहितको व्यावसायिक भवन, बुट्टावारी प्याकुरेल चोक जोड्ने सडकको स्तरोन्नति, बिर्तामोड नगर अस्पतालको स्तरोन्नति भइरहेको छ ।

बिर्तामोड नगरपालिकाको ‘नगर गौरव’ को आयोजनाका रूपमा रहेको बुट्टावारी–प्याकुरेल चोक सडकखण्डको स्तरोन्नतिका लागि काम भइहरेको छ । छ दशमलव दुई किलोमिटर लामो सो सडक विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको हो । सो सडक निर्माणका लागि विश्व बैंकले रु ५१ करोड २९ लाख ६१ हजार तीन सय ७२ ऋण प्रवाह गरेको छ । सडक दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : २३ बजे