मंसिर ७, २०८१ शुक्रबार Fri Nov 22 2024

भूकम्पपीडितलाई कलाकर्मीको सहयोग



काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ ।

कलाकारको छाता संस्था नेपाल चलचित्र कलाकार सङ्घको तर्फबाट रु ३९ हजार आठ सय ३१ कोषमा जम्मा गरिएको अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनले भने, “पीडितको घाउमा मल्हम लगाउने सानो प्रयास गरेका छौँ ।”चलचित्र निर्माताको संस्था नेपाल चलचित्र निर्माता सङ्घको तर्फबाट उक्त कोषमा रु एक लाख सहयोग गर्ने अध्यक्ष नवल खड्काले जानकारी दिए । उनले भने, “हामी सबैले आ–आफ्नो स्थानबाट सहयोगी भावना देखाउनु आवश्यक छ । निर्माता सदस्यलाई पनि सहयोगका लागि अपिल गरेका छौँ ।”चलचित्र निर्माता सन्तोष सेनले उक्त कोषमा रु ६१ हजार पाँच सय सहयोग गरेको जानकारी दिए । यस्तै गायक सुनिलसिंह ठकुरीले नेपालगञ्जमा यही कात्तिक २४ गते हुने ‘रक अन फेस्टिभल सेलिब्रेसन विथ सुनिलसिंह ठकुरी’ नामक साङ्गीतिक कार्यक्रम (कन्सर्ट)बाट प्राप्त हुने आम्दानी कोषलाई सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ८ : ४६ बजे